PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

सर्वोच्च अदालतमा समूहगत सुनुवाइ शुरु



रासस

सर्वोच्च अदालतमा समूहगत सुनुवाइ शुरु

काठमाडौं : सर्वोच्च अदालतले एकै प्रकृतिका मुद्दालाई एकै ठाउँमा राखेर आजदेखि दैनिक पेशी तोकी समूहगत सुनुवाइ शुरु गरेको छ। 

समूहगत सुनुवाइका क्रममा आज चार वटा छुट्टाछुटै इजलास तोकी समूहगत सुनुवाइ शुरु गरिएको हो। समूहगत सुनुवाइका लागि न्यायाधीश केदारप्रसाद चालिसे र बमबहादुर श्रेष्ठको संयुक्त इजलासमा जग्गा दर्ता, नामसारी, गुठीजस्ता मुद्दामा र न्यायाधीश शारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा लागूऔषध र नागरिकतासम्बन्धी मुद्दामा सुनुवाइ भयो। 

न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा माना चामल, बहुविवाह, करकापलगायत विषयमा र प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासमा जालसाजी, करकापलगायत मुद्दामा सुनुवाइ भयो। 

सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले एउटै प्रकृतिका मुद्दालाई एकै ठाउँमा राखेर सुनुवाइ गर्दा छिटो मुद्दाको किनार लाग्ने र न्यायमा पहुँच बढाउने उद्देश्यले आजदेखि दैनिक पेशी नै तोकेर समूहगत सुनुवाइ शुरु गरेको जानकारी दिए। 

अहिले सर्वोच्च अदालतमा २२ हजारको हाराहारीमा पुराना मुद्दा रहेको र ती मुद्दाको तीव्र रुपमा सुनुवाइ गर्न र पुराना मुद्दालाई प्रभावकारी रुपमा सकेर नागरिकलाई राहत मिल्ने सोचका साथ समूहगत सुनुवाइ शुरु गरेको समेत उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell