
नेमारको चार गोल तथा एडिनसन कभानीको कीर्तिमानी गोल मद्दतमा पेरिस सेनट जर्मेन पिएसजीले फ्रेन्च लिगमा डिजोनलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ।
गत सिजनको सुरुमा विश्व कीर्तिमानी रकममा पेरिस पुगेका नेमारले पिएसजीका लागि ४२औँ ५७औँ ७३औँ र ८३औँ मिनेटमा गोल गरे। यस्तै एन्जल डि मारियाले चौथो र १५औँ मिनेटमा गोल गरे।
कभानीले २१औँ मिनेटमा गोल गर्दै पिएसजीका लागि सबै खाले प्रतियोगितमा सर्वाधिक गोल गर्ने ज्लाटन इब्राहिमोभिचको कीर्तिमान बराबरी गरे। सन् २०१२ देखि २०१६ सम्म पिएसजीका लागि खेलेका ज्लाटनले १५६ गोल गरेका थिए। अब त्यो कीर्तिमा आफ्नो नाममा बनाउन कभानी एक गोलले मात्र टाढा छन्।
पिएसजीका लागि केइलिन एमबापेले एक गोल थपे।
जितपछि २१ खेलबाट ५६ अंक जोडेको लिग लिडर पिएसजीले दोस्रो स्थानको मार्सेमाथि ११ अंकको अग्रता बनाएको छ।