
छायांकनदेखि सेन्सर र प्रदर्शनमा समेत समस्या झेल्दै आएको फिल्म 'पद्मावत'को 'घुमर' बोलको गीत बजाउन रोक लगाइएको छ। मध्य प्रदेशको देवस जिल्लाका शिक्षा अधिकृतले स्कूलको सांस्कृतिक कार्यक्रमहरुमा उक्त गीत बजाउन प्रतिबन्ध लगाएका हुन्।
अधिकृत राजिव सूर्यवंशीले जिल्लाका सम्पूर्ण स्कूलका प्रिन्सिपललाई पत्राचार गरेर उक्त निर्देशन दिएको फस्टपोस्टमा जनाइएको छ। श्री राष्ट्रिय राजपुत कर्नी सेनाले माँ पद्मावतीको नाममा पत्र लेखेर उक्त गीत प्रतिबन्धको लागि आग्रह गरेका थिए। उनीहरुको माग सम्बोधन गर्दै गीत बजाउन निर्देशन दिइएको हो।
देवस जिल्लाका कलेक्टर आशिष सिंहले भने उक्त निर्देशन सही नभएको जनाएका छन्। उनले भनेका छन्,'शिक्षा अधिकृतले दिएको निर्देशन ठिक होइन त्यसैले उनलाई तीन दिनभित्र आफ्नो निर्णय उल्ट्याउन भनेका छौं।'
भारतभित्रकै विभिन्न ठाउँहरुमा विवादमा तानिएको फिल्म जनवरी २५बाट सार्वजनिक हुँदैछ। फिल्मको ३०० दृश्य सेन्सर गरेको बारे सामाजिक सञ्जालमा ट्रोल बन्ने क्रम जारी छ।