
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र मुकाम तोक्न सरकारलाई सहमति दिए पनि तोकिएको स्थान र व्यक्तिप्रति पार्टीको असहमति रहने बताएका छन्।
स्वास्थ्य परीक्षण सकेर बैंककबाट आज काठमाडौं ओर्लिएपछि ओलीले प्रदेश सभा र प्रमुख तोक्ने काम सरकार भएकाले तोक्न सहमति दिएको बताएका हुन्। तर, तोकिएको स्थान र व्यक्तिप्रति सहमति नरहेको उनको टिप्पणी थियो।
‘प्रदेश मुकामको विषयमा अल्झिरहनु पर्दैन। पछि प्रदेश सभाले टुंगो लगाउँछ,’ओलीले भने, ‘हाम्रो सुरुदेखि नै अध्यादेशमा असहमति थियो। सरकारले लुकाएर असंवैधानिक रुपमा त्यसलाई ल्याएको हो।'
सपथ ग्रहण नगर्ने भनेको होइन
नयाँ म्यान्डेट आइसकेकाले सरकारले तय गर्ने प्रदेश प्रमुखबाट सपथ ग्रहण नगर्ने घोषणा गरेको एमाले अध्यक्ष ओलीले थाइल्यान्डबाट फर्केपछि भने टोन फेरेका छन्। ‘सरकारले बलजफत गरेमात्र सपथ नगर्ने भनेका हौं,’ ओलीले भने। उनले अध्यादेश जारी गर्ने विषयसँग जोडिएर अभिव्यक्ति दिएको प्रस्ट्याए।
पार्टी एकीकरणमा पनि फेरियो बोली
उपचारका लागि थाइल्यान्ड जाँदै गर्दा ओलीले भनेका थिए – १५ दिनभित्र पार्टी एकता हुन्छ। फर्केर आउँदा पत्रकार ऋषि धमलाले त्यही प्रश्न गरे। उत्तरमा ओली हल्का शैलीमा उत्रिए र उल्टै सोधे- ‘मैले १५ दिन भनेको हो र?’
उनले आफूले छोटो समयमात्र भनेको बताए। ‘गृहकार्य भइरहेको छ। सकेसम्म छिटो हुन्छ,’ ओलीले भने, ‘यसमा आशंका र आश गर्ने दुवैले गर्न भएन।‘
विरामी भएर गएको होइन, नियमित हो
अध्यक्ष ओलीले थाइल्यान्ड विरामी भएर नगएको जिकिर गरे। ‘नियमित स्वास्थ्य परीक्षणका लागि बैंककमा थिएँ। कुनै विरामीका कारण होइन, नियमित परीक्षणका लागि गएको हो,’ ओलीले भने।लोकतन्त्रलाई अपव्याख्या गर्ने गरी सरकारले काम गरेको आक्षेप लगाउँदै उनले संक्रमणकालको अन्तिममा त्यसको अपव्याख्या भएको जिकिर गरे। सरकारले जनताको अभिमतको सम्मान नगरेको उनको पुरानै धारणालाई आज पनि व्यक्त गरे।
‘सरकार बनिसक्नुपर्ने जनादेश आइसकेपछि पनि त्यसलाई गलत मनासय राखेर प्रयोग गर्नु लोकतान्त्रिक अभ्यास होइन,’ ओलीले भने।
आफ्नो स्वास्थ्य स्थितिबारे ब्रिफ गर्दै कार्यबाहक अध्यक्ष बामदेव गौतम र पार्टीका नेताहरुलाई उनले धन्यवाद दिए। एमाले नेता प्रदीप ज्ञवालीले ओलीको स्वागत गर्दै भावि प्रधानमन्त्रीका रुपमा बोल्न आग्रह गरेका थिए।
उनलाई लिन विमानस्थलमा वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सुवास नेम्बाङ लगायतका नेता पुगेका थिए।