
काठमाडौं: निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीलाई निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिन सुरु गरेको छ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न गर्न गम्भीर भएर लाग्नु पर्ने बताए।
‘राष्ट्रियसभा सदस्य निर्वाचन गम्भीर र संवेदनशील प्रकृतिको छ,’ उनले भने, ‘यस पटक अझ उत्कृष्ट व्यवस्थापन गरेर निर्वाच सफल बनाउन जिम्मेवार हुनु पर्ने छ।’
उनले प्रदेशको अस्थायी सदरमुकाम तोकिएपछि दाङ र डोटी जिल्लामा शान्ति सुरक्षाको अवस्था जटिल देखिएकाले राम्रो सुरक्षा व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
संघीय संसद्लाई पूर्णता दिन राष्ट्रिय सभा सदस्य निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दलको सहयोग आवश्यक रहेको प्रमुख आयुक्त यादवले बताए।
‘संघीय ससद्को पूर्णताका लागि हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न तुल्याउनु हामी सबैको दायित्व हो,' उनले भने, ‘प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रणालीको मतपरिणाम प्रदेश प्रमुखसमक्ष पेश गर्न आयोग तयार छ। राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरी प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम राष्ट्रपतिसमक्ष पेश गर्न आयोग आतुर रहेको छ।’
आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचनको मतगणना कार्य जटिल भएकाले गणनालाई सहयोग गर्न केन्द्रले सातवटै प्रदेशमा प्राविधिक टोलीसमेत खटाउने जानकारी दिए।
राष्ट्रिय सभा सदस्य निर्वाचनको सैद्धान्तिक पक्ष, राष्ट्रिय सभा सदस्य निर्वाचनको कानुन, निर्वाचन तालिका, आचारसंहिता र मतदान र मतगणनालगायतका विषयमा प्रशिक्षण दिईएको छ।
प्रशिक्षणमा मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाका जिल्ला न्यायाधीशसहित २३ जनाको सहभागिता रहेको छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते बुधबारको दिन बिहान १०ः०० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ ।