PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

राष्ट्रिय तेक्वान्दो : ओलम्पियन निशालाई स्वर्ण



पहिलोपोस्ट

राष्ट्रिय तेक्वान्दो : ओलम्पियन निशालाई स्वर्ण
राष्ट्रिय तेक्वान्दोको पहिलो दिन महिलातर्फ स्वर्ण जितेका बायाँबाट निशा रावल, अप्सरा कार्की र सीता तामाङ

काठमाडौं : ओलम्पियन निशा रावलले राखेप च्याम्पियनसिपअन्तर्गत १४औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको महिला ७३ केजीमाथि बिहीबार स्वर्ण जितेकी छन्।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा भएको फाइनलमा नेपाल आर्मीकी निशाले मध्यमाञ्चलकी सुष्मा गुरुङलाई पराजित गरिन्।

यसैगरी महिला ७३ केजीमुनि एपीएफकी अप्सरा कार्की तथा ६७ केजीमुनि नेपाल प्रहरीकी सीता तामाङले पहिलो स्थान हात पारे। फाइनलमा अप्सराले प्रहरीकी सुमित्रा केसी तथा सीताले आर्मीकी रेश्मा थापालाई हराए।

पुरुष ८७ केजीमाथि प्रहरीका अनोज पुजारी पहिलो भए। फाइनलमा उनले आर्मीका मोहम्मद वेशलाई पराजित गरे। ८७ केजीमुनि मध्यमाञ्चलका भुपेन पुनले फाइनलमा प्रहरीका दुर्गा थापालाई पाखा लगाउँदै शीर्ष स्थान हात पारे। ८० केजीमुनि प्रहरीका जेम्स प्रधानले स्वर्ण जिते। उनले फाइनलमा आर्मीका उज्ज्वल गुरागाईंलाई हराए।

पुम्सेको पुरुष १६ वर्षमुनि एपीएफका नवीन श्रेष्ठ र आर्मीका कृष्ण तामाङ, २० वर्षमाथि आर्मीका शिशिर श्रेष्ठ र मध्यमाञ्चलका उज्ज्वल श्रेष्ठ तथा २० वर्षमाथि प्रहरीका कमल श्रेष्ठ र मध्यमाञ्चलका सुजन तामाङले क्रमशः स्वर्ण र रजत हात पारे।

पुम्सेकै महिलातर्फ १६ वर्षमुनि प्रहरीकी मोनिका रम्तेलले स्वर्ण र मध्यमाञ्चलकी रिता श्रेष्ठले रजत जिते। २० वर्षमुनि पूर्वाञ्चलकी सिना मादेनले आर्मीकी रोशनी श्रेष्ठलाई पछि पार्दै पहिलो भइन्। २० वर्षमाथि आर्मीकी निता गुरुङ पहिलो र प्रहरीकी पार्वती गुरुङ दोश्रो बने।

प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय गरी ८ टिमका १ सय ७६ खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको नेपाल तेक्वान्दो संघअन्तर्गत रेफ्री कमिटीका चेयरम्यान नवीनकुमार श्रेष्ठले जनाएका छन्। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell