दाङ : नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब राखेप च्याम्पियनसिपअन्तर्गत दाङमा भइरहेको २८औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
दुवै विभागीय टोलीले सेमिफाइनलमा एक गोलले पछि परेको स्थिती उल्टाउदै जित हात पारेका थिए।
दाङको तुल्सीपुरमा भएको विभागीय भिडन्तमा पुलिसले नेपाल एपीएफ क्लबलाई २-१ ले पराजित गर्यो। एपीएफका दीपक खड्काले १७औँ मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाएपछि त्यसलाई कायम राख्न नसक्दा पराजित भयो। पुलिसका लागि सन्तोष हेमरुनले ५३औं मिनेटमा बराबरी गोल फर्काए। निर्धारित समयकव खेल बराबरी भएपनि इन्जुरी टाइमको पहिलो मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई जित दिलाए।
यसैगरी घोराहीमा भएको अर्को सेमिफाइनलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई २-१ ले नै हरायो। सुदूरपश्चिमाञ्चलका मणि चौधरीले १९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तरआर्मीले दोस्रो हाफमा दुई गोल फर्काउँदै जित हासिल गर्यो। आर्मीका एरिक विष्टले ६९औं मिनेट बराबरी गोल फर्काए भने ७१औं मिनेटमा राजिव गुरुङले विजयी गोल गरे।
फाइनल खेल र तेश्रो स्थानका लागि शनिवार खेल हुनेछ। दुबै खेल घोराहीमा खेलाइनेछ।