काठमाडौं: बहुप्रतिक्षित कांग्रेस केन्द्रीय समितिको बैठकमा कांग्रेसको केन्द्रीय समितिको बैठकको औचित्यमाथिसमेत प्रश्न उठेको छ।
आज सुरु भएको बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि अधिकांश केन्द्रीय सदस्यले आक्रोश पोखेका थिए।
कांग्रेसलाई नवजीवन दिनुपर्ने माग गर्दै आएका नेताहरुले भने केन्द्रीय समितिले गरेको निर्णय कार्यन्वयन नगरेको अवस्थमा बैठक बसेर केही नहुने धारणा राखे।
बैठकमा केन्द्रीय सदस्य धनराज गुरुङले यसअघिकै केन्द्रीय समितिबाट नेताहरुलाई समानुपातिक नदोहोर्याउने निर्णय गरेपनि यसपटक पुन दोहोर्याउन लागेको भन्दै आक्रोश पोखे।
'कांग्रेस केन्द्रीय समितिको यसअघिको बैठकले समानुपातिकमा कसैलाई नदोहोर्याउने भनेका थिए, तर यसपटक दोहोर्याउने काम भएको छ, यसरी केन्द्रीय समितिको निर्णय नै नमानेपछि यो बैठकको औचित्य के?' उनले भने।
त्यसैगरी उनले कांग्रेस हारिरहेको बेला कोही नेताले शीर्ष नेताको चाकरीका लागि नहारेको पुष्टि गर्न खोज्नु पार्टीकै लागि घातक भएको र पार्टी विधिविधानभन्दा बाहिर गएको आरोप लगाए। गुरुङले १४ जनाको संसदीय समितिमा २४ जना राखेर पार्टीले विधान नै नाघेको बताए।
बैठकमा कांग्रेसका युवा नेताहरुले राष्ट्रिय हितका विषयमा पनि कुरा उठाएका थिए। उनीहरुले भारतले नेपालको ५० विघा जमिन मिचेर पिलर गडेकोले यसबारे आवाज उठाउन माग गरेका थिए। बैठकमा केही नेताले प्रदेश मुकामबारे असन्तुष्टि पोखेका थिए। बैठक भोलि बिहान ११ बजे पुन: बस्ने गरी स्थगित भएको छ।