PahiloPost

May 15, 2024 | २ जेठ २०८१

'मगरमुक्त कांग्रेस' को डरमा डेलिगेसन, पौडेल भन्छन् : कांग्रेसमा केहीको निश्चितता छैन



नेत्र तामाङ

'मगरमुक्त कांग्रेस' को डरमा डेलिगेसन, पौडेल भन्छन् : कांग्रेसमा केहीको निश्चितता छैन

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व शून्य भएको भन्दै मगरहरुको एक टोलीले कांग्रेस नेताहरुसँग भेटेका छन्।

शुक्रबार दिउँसो प्रधान मन्त्री निवास बालुवाटारमा तनहुँ कांग्रेसका उपसभापति जितप्रकाश आलेको नेतृत्वमा आएको टोली कांग्रेसको केन्द्रीय समिति बैठक चलिरहेको बेला पुगेको हो।

नेपाली कांग्रेसबाट प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकमा समेत मगरको उपस्थिति नभएकाले राष्ट्रिय सभामा मगरको उपस्थिति सुनिश्चित गर्न आफूहरु बालुवाटार आएको आलेले बताए।
उनले भने, ‘अहिले केन्द्रीय समितिको बैठक पनि चलिरहेको छ। धेरैभन्दा धेरै नेताहरुसँग भेट हुने भनेर हामी डेलिगेसन आएका हौं।’

टोलीले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न खोजे पनि देउवा निवासबाट बाहिरिएपछि भेट्नै पाएनन्। त्यसपछि उनीहरुले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटे।

'कांग्रेस मगररहित हुने भयो, यसरी आदिवासी जनजातिलाई पन्छाउनु ठिक हुँदैन भन्दै हामी डेलिगेसनमा आएका हौं,’ तनहुँका कांग्रेस नेता ईन्द्रबहादुर आलेले भने, ‘हामी राष्ट्रिय सभाका लागि ढुक्क भएका छौं।’

जवाफमा वरिष्ठ नेता पौडेलले कांग्रेसमा केही कुराका निश्चितता नरहेको भन्दै ठट्टा गरेका थिए। 
टोलीले मगरलाई जसरी भएपनि नेतृत्वमा पुर्‍याउन दबाव दिएपछि पौडेलले भने, ‘मैले अघि नै कुरा बुझिसकेँ। सक्दो प्रयास गर्नेछु, केन्द्रीय समितिमा कुरा राखिसकेको छु।’

टोलीले कांग्रेसका महासमिति सदस्यसमेत रहेका जितप्रकाशलाई राष्ट्रिय सभामा लैजान दबाव दिने भएका छन्। उनीहरु प्रधानमन्त्री एवं सभापति देउवालाई नभेटी नजाने अडानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell