
कैलाली: वाणिज्यमन्त्री मीन विश्वकर्माले सम्पूर्ण अधिकार स्थानीय तहमा पुगेको अवस्थामा प्रदेशको अस्थायी मुकाम तोकिँदा आन्दोलन गरिरहनु आवश्यक नरहेको बताएका छन्।
नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले प्रदेशको अस्थायी राजधानीको विषयलाई लिएर भएका आन्दोलन औचित्यहीन भएको बताए।
संविधानको पूर्ण कार्यान्वयन गराउन राष्ट्रियसभाको निर्वाचन गर्नुपर्ने बाध्यता छ र त्यसका लागि वर्तमान सरकारले अस्थायीरुपमा राजधानी तोकेको मन्त्री विश्वकर्माले स्पष्ट पारे।
उनले सम्बन्धित प्रदेशले विधिसम्मत ढंगले आफ्नो राजधानी तोक्न सक्ने जिम्मेवारी भएकाले त्यसैमा अल्झिएर आन्दोलन गरिरहन उपयुक्त नभएको उल्लेख गरे।
“राजधानी तोकिँदैमा विकास हुन्छ भन्ने मनसायबाट हामी जानु हुँदैन” मन्त्री विश्वकर्माले भने, “देश संघीय संरचनामा गइसकेको छ, सम्पूर्ण अधिकार स्थानीय तहमा पुगिसकेका छन् । राजधानी जहाँ भए पनि स्थानीयवासीलाई कुनै असर पर्दैन ।”
कार्यक्रममा मन्त्री विश्वकर्माले अबको पाँच वर्ष नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने बताए।