
काठमाडौं : नेपाल आर्मीले राखेप च्याम्पियनसिपअन्तर्गत १४औं राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार सर्वाधिक ९ स्वर्ण जितेको छ। दक्षिण एसियाली खेलकुदकी दोहोरो स्वर्ण विजेता एवं छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुने पहिलो नेपाली खेलाडी संगीना वैद्यको प्रशिक्षणमा रहेको आर्मीले गेरोगीमा ७ स्वर्ण, ५ रजत र ३ कांस्य तथा पुम्सेमा २ स्वर्ण, २ रजत र १ कांस्य हात पार्यो।
दोश्रो स्थानमा रहेको नेपाल प्रहरी क्लबले गेरोगीमा ६ स्वर्ण, ४ रजत र ३ कांस्य तथा पुम्सेमा २ स्वर्ण, १ रजत र २ कांस्य प्राप्त गर्यो।
तेस्रो भएको नेपाल एपीएफ क्लबले गेरोगीमा २ स्वर्ण, ३ रजत र ३ कांस्य तथा पुम्सेमा १ स्वर्ण र २ कांस्य हासिल गर्यो। विभागीय टिम बाहेक गेरोगी र पुम्सेमा मध्यमाञ्चल र पूर्वाञ्चलका १–१ खेलाडीले स्वर्ण जिते। गेरोगीको पुरुष ८७ केजीमा मध्यमाञ्चलका भुपेन श्रेष्ठ र महिला पुम्सेको २० वर्षमुनि पूर्वाञ्चलकी सिना मादेनले आ–आफ्नो क्षेत्रलाई स्वर्णविहीन हुनबाट जोगाए।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा भएको प्रतियोगिताको गेरोगीतर्फ पुरुषमा १२औं सागका रजतधारी प्रहरीका वीरबहादुर महरा तथा महिलामा एपीएफकी अस्मिता खड्का उत्कृष्ट खेलाडी चुनिए।
वीरबहादुरले ६३ केजीमुनि स्वर्ण जिते। प्रतियोगिताको अन्तिम दिन अस्मिताले ४९ केजीमुनि फाइनलमा आर्मीकी काजल श्रेष्ठलाई समग्रमा १२–६ अंकले पराजित गर्दै स्वर्ण जितेकी हुन्। पहिलो राउन्डमा अस्मिता अंकविहीन बन्दा प्रतिद्वन्द्वी काजलले १ अंक जोडिन्। दोश्रो राउन्ड अस्मिताले ६ अंक जोडिन् भने काजल शून्यमा रहिन्। २ मिनेटको प्रत्येक राउन्डको अन्तिम तथा तेश्रो राउन्डको खेल सकिन ४८ सेकेन्ड बाँकी छँदासम्म खेल ६–६ को बराबरीमा थियो। अन्तिम राउन्डमा अस्मिता ६–५ ले अगाडि रहिन्।
पुम्सेको पुरुषमा एपीएफका नवीन श्रेष्ठ तथा महिलामा आर्मीकी निता गुरुङ उत्कृष्ट ठहरिए। नवीनले १६ वर्षमुनि र निताले २० वर्षमाथि स्पर्धामा स्वर्ण जिते। उत्कृष्ट चारै जनाले जनही ५ हजारका दरले नगद पुरस्कार पाए।
अन्तिम दिन महिला ४९ केजीमुनि बाहेक अन्य चार स्पर्धाको फाइनल पनि सम्पन्न भए। महिलाको ५३ केजीमुनि १२औं सागकी रजत विजेता निमा गुरुङले स्वर्ण जितिन्। निमाले फाइनलमा पूर्वाञ्चलकी सन्ध्याकुमारी सिंहलाई हराइन्। ४६ केजीमुनि आर्मीकी कल्पना चौधरीले स्वर्ण जितिन्। कल्पनाले पश्चिमाञ्चलकी सरिता श्रेष्ठलाई २९–२३ ले हराइन्। दोश्रो राउन्डको खेल समाप्तिसम्म दुवै २१–२१ को समान स्थितिमा थिए। तेश्रो राउन्डमा कल्पनाले ८–२ को अग्रता बनाउँदै स्वर्ण पक्का गरिन्। पहिलो राउन्डमा कल्पना १३–७ ले अघि थिइन् भने दोश्रोमा ८–१४ ले पछि परेकी थिइन्।
पुरुष ५८ केजीमुनि आर्मीका सागर गुभाजु र ५४ केजीमुनि प्रहरीका अनोज मल्ल पहिलो भए। फाइनलमा सागरले मध्यमाञ्चलका कपिल थापा र अनोजले एपीएफका चन्द्र राणा मगरलाई पराजित गरे।
नेपाल तेक्वान्दो संघका अनुसार तीनदिने प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय टोलीका १ सय ७६ खेलाडीले गेरोगीमा १६ र पुम्सेमा ६ गरी विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।
राष्ट्रिय तेक्वान्दोको समापनसँगै राखेप च्याम्पियनसिपअन्तर्गत उपत्यकामा तय भएको सम्पूर्ण प्रतियोगिता सम्पन्न भएका छन्।