PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

एट ए साइड भेट्रान फुटबलको उपाधी आयोजक बगर भाइ खलकलाई



नरहरि पौड्याल

एट ए साइड भेट्रान फुटबलको उपाधी आयोजक बगर भाइ खलकलाई

पोखरा : आयोजक बगर भाइ खलकको ए टिमले ‘सातौँ स्व.रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को उपाधी जितेको छ।

शनिवार सम्पन्न फाइनलमा डिफेन्डिङ च्याम्पियन सिएमजी काठमाडौँलाई १–० गोल अन्तरले हराउँदै आयोजक बगर भाइक ए टिम च्याम्पियन बनेको हो। उपाधीसंगै आयोजक टिमले नगद १ लाख हात पारेको छ भने भने सिएमजीले नगद ५० हजार प्राप्त गर्‍यो।

फाइनल खेलमा बगर भाइ खलकका लागि धन गुरुङ (सन्तोषले) मध्यान्तर लगत्तै गरेको गोल उपाधि दिलाउन निर्णायक बन्यो। यता पूर्व राष्ट्रिय खेलाडी बाल गोपाल महर्जनको कप्तानीमा उत्रेको सिएमजीले गोल गर्ने धेरै प्रयासहरु बगर भाइ खलकका किपर लक्षुमण गुरुङले बिफल पारे। खेलमा बगर भाइ खलकका डिल्लीराम श्रेष्ठ (मिलन) म्यान अफ दि म्याच घोषित भए। यसअघि शनिवारै भएकझ सेमीफाइनलमा जित हात पार्दै सिएमजी र बगर भाइ खलक फाइनल प्रवेश गरेका थिए।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बगर भाइ खलकका जय थापा घोषित भए भने बेस्ट गोलकिपरको अवार्ड सोही क्लबका लक्षुमण गुरुङले पाए। यसैगरी सिएमजीका बाल गोपाल महर्जन वेष्ट मिडफिल्डर र वेष्ट डिफेन्डर सोही टिमका राजन नेपाली भए।

बेस्ट स्ट्राइकर बगर भाइखलकका धन गुरुङ (सन्तोष) घोषित भए भने उनले नै सर्वाधिक गोलकर्ताको अवार्ड समेत हात पारे। उनले प्रतियोगितामा ४ गोल गरेका थिए। प्रतियोगितामा फेयर प्ले टिमको उपाधी भने नख्खीपोट ललितपुरले पायो। उनीहरुले नगद ५ हजारसहित आकर्षक अवार्ड प्राप्त गरे।

विजयी टिम तथा खेलाडीलाई कास्की प्रदेश सभासद बिन्दु कुमार थापा, मुख्य प्रायोजक स्व रन्जित गुरुङका परिवार मेजर खुसीमान गुरुङ र मन्जु गुरुङ, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए।

यस्तै सिने कलाकार तथा भेट्रान फुटबल खेलाडी धिरेन शाक्य, पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बाल गोपाल महर्जन र हरी बहादुर कार्कीलाई प्रतियोगितामा तीन वर्षदेखि सहभागीता जनाएको भन्दै सम्मान गरिएको थियो।

४० वर्ष देखि माथी ६५ वर्ष उमेर समुहका खेलाडी सहभागिता रहेका प्रतियोगीतामा छिमेकी मुलुक भारतका २ टिमसहित नेपालका विभिन्न जिल्ला र स्थानिय गरि २१ टिमको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell