काठमाडौँ: प्रदेश ४ को मनाङबाट प्रदेशसभा 'ख'मा निर्वाचित स्वतन्त्र सांसद् राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेशसभा सदस्यको शपथ कार्यक्रममा उपस्थित भएनन्। पनरावेदन अदालत पाटनको आदेशले फौजदारी मुद्दामा दोषी रहेको तथ्य केही दिनअघि सार्वजनिक भएपछि मनाङे भने फरार छन्।
प्रदेश ४ का सांसद्को पद तथा गोपनियताको शपथ कार्यक्रम पोखरामा आइतबार सम्पन्न भइसकेको छ। सवै सांसद्ले शपथ लिए पनि मनाङे उपस्थित नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अशोक सिहंले बताए।
दीपक मनाङे प्रहरीको फरार सूचीमा छन्। एसपी सिहंले भने 'प्रहरीको फरार सूचीमा रहेका मनाङेले शपथ लिन सक्दैनन्। शपथ लिन आए यहीँ पक्राउ गर्ने आदेश थियो।'
अदालतको फैसलापछि मनाङे संविधानको धारा १७८ अनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी ठहर भएका छन्। उनलाई कर्तव्य ज्यान मुद्दामा २०६९ सालमा पुनरावेदन अदालत पाटनले दोषी ठहर गर्दै ५ बर्ष कैद सजाय सुनाएको थियो।
उनको फैसला अन्तिम अवस्थामा छ। पुनरावेदनको म्याद समेत गुजारेका छन्।
नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुखबाट ज्येष्ठ सदस्यले शपथ लिएपछि सदस्यलाई ज्येष्ठ सदस्यले शपथ खुवाएका हुन्।
प्रहरीको खोजीमा मनाङे
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका मनाङेलाई प्रहरीले खोजी गरिरहेको छ। प्रदेशसभा सांसद बनेका मनाङे भने प्रहरीले समात्ने भएपछि गत मंगलबारदेखि फरार छन्। मनाङेलाई पक्राउ गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंले टोली नै बनाएर खोजी गरिरहेको प्रहरी स्रोतले बताएको छ।