
बुटवलः प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले आज यहाँ पदबहाली गरेका छन्।
उहाँले रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा प्रमुख झालाई ७ नं प्रदेशका सचिव सनतकुमार दवाडीले पदबहाली गराए। रुपन्देहीलाई ५ नं प्रदेशको अस्थायी केन्द्र तोकिएपछि आफ्नो जिम्मेवारी सम्हाल्न र आज हुने प्रदेशसभाका सांसदलाई शपथ गराउन उहाँ शनिबार मात्र यहाँ आइपुगेका हुन्।
पदबहालीपछि आफ्नै कार्यकक्षमा प्रदेश प्रमुख झाले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। झाले नेपाली जनताको चाहनानुसारको संघीय लोकतान्त्रिक गणतन्त्रले मूर्त रुप लिन लागेको अवस्थामा तीन वटै तहको निर्वाचनपछि अब संविधानले प्रदान गरेका जनताका अधिकारलाई सबैभन्दा पहिले संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी रहेको बताए।
“जनताका आकांक्षा स्वाभाविक रुपले धेरै भएको अवस्थामा संविधान र कानूनअनुसार धैर्य राखेमा संस्थागत गर्न कुनै समस्या हुँदैन,” उनले भने।
प्रदेशसभाका सांसदको शपथपछि प्रदेशसभाको बैठक आह्वान हुने र सरकार गठनको प्रक्रिया थालनी हुने छ । पदबहाली कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलगायत जिल्लाका उच्च प्रशासनिक तथा सुरक्षा निकायका प्रमुख, उद्योगी व्यवसायी, सञ्चारकर्मीलगायतको सहभागिता थियो।