
काठमाडौँ : पूर्व डिआइजी नवराज सिलवाललाई खोज्न ललितपुरको भट्टेडाँडा पुगेको ठूलो संख्याको प्रहरी रित्तो हात फर्किएको छ। बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविन गर्न खोजेदेखि नै फरार रहेका सिलवाल ललितपुरको भट्टेडाँडामा रहेको जानकारी पाएपछि प्रहरी आइतवार त्यहाँ पुगेको थियो।
महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले आज भट्टेडाँडामा सर्च भएको जानकारी दिए।
महानगरीय प्रहरी परिसर ललितपुरबाट डिएसपीको कमान्डमा १ सय ६५ जनाको टोलीले भट्टेडाँडा पुगेर सिलवाललाई सर्च गरे पनि उनी फेला नपरेको प्रहरीले जनाएको छ। एक प्रहरी अधिकृतले भने, 'करिब चार घन्टा लगाएर सर्च गर्यौं, कतै भेटिनु भएन।'
केही दिन अघि पूर्व डिआइजी सिलवालले पहिलोपोस्टसँगको कुराकानीमा आफू ललितपुरको भट्टेडाँडामा रहेको बताएका थिए। त्यसैलाई 'क्लु' मान्दै प्रहरी परिचालित भएको थियो।
प्रहरी प्रमुख चयनको चर्चित काण्डमा जोडिएका सिलवाल हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुन्।
सर्वोच्च अदालतले सिलवालले कामसू कीर्ते गरेको र त्यसबारे अनुसन्धान थाल्न निर्देशन दिएपछि काठमाडौं प्रहरीले उनलाई खोज्न थालेको थियो। सिलवालसँग सोधपुछ र बयान लिनुपर्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई काठमाडौं प्रहरीले गत पुस १८ गते पत्राचार गरेको थियो। तर, प्रहरी परिसर ललितपुरले सिलवालको ठेगानामा उनी नभेटिएको भन्दै पत्राचार गरेको थियो।
सिलवाल भने प्रहरीले खोज्न सुरु गर्नुअघिदेखि फरार रहँदै आएका छन्।