PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

मनोज पुनको निर्देशनमा व्यवसायी पौडेलको हत्या: जेलबाट छुटेको केही महिनामै यसरी बुनियो योजना



सविन ढकाल

मनोज पुनको निर्देशनमा व्यवसायी पौडेलको हत्या: जेलबाट छुटेको केही महिनामै यसरी बुनियो योजना

काठमाडौँ: रुपन्देही देवदहका काठ मिल व्‍यावसायी वसन्त पौडेलको हत्यामा संलग्न दुई जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा नवलपरासीका ३६ वर्षीय पदम चौधरी र सुनसरीका ३६ वर्षीय महिनानारायण चौधरी रहेका छन्। पदमलाई प्रहरीले पोखरा र महिनानारायणणलाई चितवनबाट पक्राउ गरेको हो।

गत पुस ५ गते मिलमा काम गरिरहेका पौडेललाई बाइकमा आएका दुई जनाले गोली हानी फरार भएका थिए। 'काठको अर्डर गर्नु छ' भन्दै आएका उनीहरुले पौडेलमाथि गोली प्रहार गरेका थिए। पक्राउ परेका महिनारायणले मोटरसाइकल चलाएका थिए। महिनारायणले पहिले पेस्तोल देखाए, तर गोली भने पछाडि बस्नेले हाने। 

पक्राउ परेका चौधरी यसअघि विभिन्न अपराधिक गतिविधिमा सामेल भएको प्रहरी अनुसन्धानमा देखिएको छ। उनी ७ महिना अगाडि मात्र कारागारबाट निस्किएका थिए। दुवै जना पाल्पा कारागारमा सँगै कैद भुक्तान गरेका हुन्। पदम गत वैशाखमा अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भुक्तान गरी छुटेका थिए। 

महिनानारायण गत जेठ १५ गते हातहतियार खरखजाना मुद्दामा सजाय कटाएर निस्केका थिए। प्रहरीको अनुसन्धानमा पदम पनि केही समय अगाडी कैद भुक्तान गरेर निस्किएका व्यक्ति हुन्। पदमले घटनामा प्रयोग भएको बाइक र र हतियार ब्यवस्थापन गरेको देखिएको छ। पदमको साथबाट प्रहरीले तीनवटा पेस्तोलसमेत बरामद गरेको छ।

प्रहरीले पक्राउ गरेका दुबै जना गुन्डा नाइके मनोज पुन समूहका भएको अनुसन्धानमा देखिएको हो। दुबै जनालाई घटना गराए बाफत ३ लाख ५० हजार रुपैयाँ 'सुपारी' दिने सहमति भएको थियो। उनीहरुको साथबाट सुपारी बापत लिएको ९९ हजार रुपैयाँ समेत प्रहरीले बरामत गरेको छ।
गतवर्ष पुस ४ गते नेकपा एमालेको भातृ संगठन युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य अभियुक्तको रुपमा पुन प्रहरीको खोजी सूचीमा छन्।

असोज २३ गते काठमाडौं नयाँ बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा पनि पुनको संलग्नता देखिएको प्रहरीको दाबी छ। गौचनकै हत्या मुख्य योजनाकार समिरमान बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। तर, बस्नेतले भने मनोज पुन आफ्नो समूहमा नरहेको भन्दै पुनको बचाउ गर्दै आएका छन्।

पुन तत्कालीन माओवादीमा आवद्ध रहेर स्थानीय राजनीतिमा संलग्न थिए। उनलाई दूर्गा तिवारीले नै माओवादीबाट एमालेको युथ फोर्समा आबद्ध गराएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell