PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

राष्ट्रिय उसु : थाइचीमा हरि र सवितालाई स्वर्ण



पहिलोपोस्ट

काठमाडौं : नेपाल आर्मीका हरिप्रसाद गोले र सविता राईले राखेप च्याम्पियनसिपअन्तर्गत १३औं राष्ट्रिय उसु प्रतियोगिताको थाउलोतर्फ थाइची अल राउन्डमा शनिबार स्वर्ण जितेका छन्। दुवै १२औं दक्षिण एसियाली खेलकुद (साग) का रजत विजेता हुन्।

इटहरीमा भएको प्रतियोगिताको पुरुषमा हरिले सर्वाधिक १६.७५ अंक जोडे। पासाङ शेर्पा (१६.४० अंक) दोश्रो र विवेश श्रेष्ठ (१४.०५ अंक) तेश्रो भए। दुवै मध्यमाञ्चलका हुन्।

महिलामा सविताले सबै प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा १७ अंक जोडिन्। आर्मीकै मीना ग्लान (१६.३५ अंक) ले रजत र सुदूरपश्चिमाञ्चलकी सम्झना चौधरी (१५.४० अंक) ले कांस्य हात पारे।

सान्सौंको पुरुष ४८ केजीमा एपीएफका अशोक खालिङले मध्यमाञ्चलका नरेन्द्र कुँवर तथा पूर्वाञ्चलका गणेशकुमार लिम्बूले मध्यपश्चिमाञ्चलका टीकाराज रोकायालाई पराजित गरी फाइनलमा पुगे। ५२ केजीमा आर्मीका मदनकुमार श्रेष्ठले नेपाल प्रहरीका दिपेन्द्र सिजाली मगर तथा मध्यमाञ्चलका कान्ति लामाले सुदूरपश्चिमाञ्चलका शिवराज सुनारी मगरलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरे।

५६ केजीमा एपीएफका अमर सुनारले मध्यमाञ्चलका सुनी शिरीषलाई हराउँदै फाइनलमा पुगे। ६० केजीमा प्रहरीका मुकेश पण्डितले पूर्वाञ्चलका विजय रसाइली तथा एपीएफका मंगलप्रसाद थारुले सुदूरपश्चिमाञ्चलका बालकृष्ण चौधरीलाई पराजित गर्दै फाइनल यात्रा तय गरे। ६५ केजीमा प्रहरीका सुमन घुस्रीले सुदूरपश्चिमाञ्चलका सुद्धिराम चौधरी तथा आर्मीका वीरमान लामाले एपीएफका सन्जिव महर्जनलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे।

सान्सौंतर्फ नै पुरुषको ७० केजीमा पश्चिमाञ्चलका योगेन्द्र थापाले मध्यमाञ्चलका रामचन्द्र सिम्खडा तथा आर्मीका चित्रसिंह ठकुरीले प्रहरीका प्रेमचन्द्र दर्लामी मगर, ७५ केजीमा आर्मीका पदम राईले मध्यपश्चिमाञ्चलका भरत राणा र पूर्वाञ्चलका चन्द्र लिम्बूले पश्चिमाञ्चलका किरण घर्तीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरे।

यसैगरी ८० केजीमा पश्चिमाञ्चलका अनुप खड्काले सुदूरपश्चिमाञ्चलका प्रकाश थापा र एपीएफका निकेश श्रेष्ठले पूर्वाञ्चलका गणेश श्रेष्ठ तथा ८५ केजीमा एपीएफका भुपेन्द्र शाहले आर्मीका रामचन्द्र बराल र प्रहरीका अजय महर्जनले पश्चिमाञ्चलका प्रवेश राना मगरलाई हराउँदै फाइनलमा स्थान बनाए।

राउन्ड रोविन लिगको पुरुष ९० केजीमा आर्मीका किरण साउदले पूर्वाञ्चलका विनोद निरौलालाई पराजित गरे भने ९० केजीमाथि प्रतिद्वन्द्वी आर्मीका रमेश तामाङ ‘मेडिकल डिस्क्वालिफाइ’ भएपछि पूर्वाञ्चलका सुजन विक विजयी भए।

सान्सौंको महिला ४८ केजीमा आर्मीकी सर्मिला राई र पश्चिमाञ्चलकी रेखा बोहरा, ५२ केजीमा सुदूरपश्चिमाञ्चलकी रिता ठकुल्ला र आर्मीकी एलिना चौधरी, ५६ केजीमा आर्मीकी जुनी राई र एपीएफकी निशा विक, ६० केजीमा मध्यपश्चिमाञ्चलकी गोमा आस्रे र आर्मीकी लुमन्ती श्रेष्ठ, ६५ केजीमा पूर्वाञ्चलकी अस्मिता एप्टेन र एपीएफकी मनीषा राउत तथा ७० केजीमा आर्मीकी विन्दु पुन मगर र मध्यपश्चिमाञ्चलकी देवी श्रेष्ठ फाइनलमा पुगेका छन्।

प्रतियोगिताको फाइनल खेलहरु सोमबार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell