
काठमाडौं : प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीले सडकको जुलुसको निर्देशनमा अदालत नचल्ने प्रस्ट्याएका छन्। प्रेस काउन्सिल नेपालमा आज आयोजित कार्यक्रममा बोल्दै उनले भिडको आक्रमण र जुलुसको निर्देशनको न्यायिक प्रकृयामा कुनै गुञ्जायस नरहने बताए।
'अदालत अदालतजस्तै हुनुपर्छ र रहिरहन्छ पनि,' उनले भने, 'सबजुडिक विषयहरु अदालतबाटै निरुपण हुन्छ। पद्दति र प्रणाली अनि संविधानको मर्म अनुसार चल्ने अदालतको न्यायिक प्रक्रियामा भिडको आक्रमण र जुलुसको निर्देशनको कुनै गुञ्जाय रहँदैन।'
उनले न्यायिक प्रक्रियाबाट छिनोफानो हुनुपर्ने विषय रत्नपार्क, मण्डला वा सडकबाट निर्णय हुने हो भने संविधान बमोजिमका संस्थाहरुको अन्त्य त्यही विन्दुबाट हुने बताए।
'अदालत वा न्यायाधीश यस्तो संस्था वा व्यक्ति होइन जसको कुनै आलोचना नहोस्,' उनले भने, 'मैले पटक पटक भन्दै आएको छु – अदालत र न्यायाधीशमाथि निश्चिन्त भएर लेख्नुस्। तर, ती लेखाई सत्यतामा आधारित हुनुपर्छ।'
उनले आफ्नो लिखित वक्तव्यमा भनेका छन् - 'न्यायाधीशले कतिपय अवस्थामा अप्रिय आलोचननाहरु सुन्नु परिरहेको पनि हुन्छ। तर जब आलोचनाले न्यायको नियमित प्रवाहमा नै असर पुर्याउँछ, न्यायाधीशको निष्पक्षता तथा क्षमतामा अनुचित टिकाटिप्पणी गरी सर्वसाधारणा जनताको नजरमा अदालतलाई गिराउने कार्य गरिन्छ तब त्यसले न्यायपूर्ण समाज निर्माणको गतिलाई अवरोध गर्दछ।'