PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

महन्थ ठाकुरलाई यसरी घेराबन्दी गर्दै राजेन्द्र महतो :  मिसन राजपा कब्जा



पहिलोपोस्ट

महन्थ ठाकुरलाई यसरी घेराबन्दी गर्दै राजेन्द्र महतो :  मिसन राजपा कब्जा

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुर पार्टीभित्रबाट घेराबन्दीमा पार्दैछन्। राजपाभित्र सर्वमान्य एवं सबैभन्दा शक्तिशाली ठाकुरलाई अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले चुनौती दिँदैछन्। र, ठाकुरविरुद्ध घेराबन्दी थालेका छन्। 

नेता महतो पार्टीको महाधिवेशनअघि नै संसदीय दलको नेता बन्ने रणनीतिका साथ सक्रिय भएका छन्। संसदीय दलको नेता भएको खण्डमा आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुने उनको अर्जुनदृष्टि हो। त्यसकै आडमा आगामी पार्टी महाधिवेशनबाट अध्यक्ष पद हत्याउने रणनीतिमा छन् महतो।  

हाल पार्टीभित्र शीर्ष तहमा महतोको दोस्रो स्थानमा छन्। प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा आफ्ना पुरानो पार्टी सद्भावनाका अधिकांश नेताहरुलाई टिकट दिलाउन सफल भएकाले महतो पक्षधर बढी संख्यामा विजय भएका छन्। प्रतिनिधि सभामा राजपाले प्रत्यक्षतर्फ जितेको ११ सिटमा महतोसहित पाँच जना उनका पक्षधर छन्।

प्रदेश सभाको १६ सिटमा ८ सिट महतो पक्षधरले पाएका छन् भने प्रदेश सभाको समानुपातिकमा पनि महतोले आफ्ना निकटहरुलाई राखेका छन्।

प्रदेशमा पनि आफ्नो पकड बलियो बनाउन महतोले आफू निकट सांसद प्रमोद साहकी पत्नी नीराकुमारी साहलाई प्रदेश सभा सदस्य बनाएका छन्। त्यस्तै, अन्जु कुमारी र रीना यादव पनि महतोकै कोटाबाट प्रदेश सभा सदस्य भएका छन्। अर्थात् कुल दश सिटमा तीन जना महतोको प्रत्यक्ष सिफारिसका छन् भने दुई जना सामूहिक सिफारिसमा छन्। बाँकी पाँच जना पाँच अध्यक्षले बाँडेका छन्।

प्रतिनिधि सभाको समानुपातिकमा महन्थ ठाकुरभन्दा बढी सिट लिन महतोले ठाकुरका सम्धी उमाकान्त झालाई प्रदेश प्रमुख बनाउन सहमत भए। झालाई प्रदेश प्रमुख बनाएवापत महतोले प्रतिनिधि सभाको समानुपातिक तर्फ ६ मध्ये तीन सिट लिने छन्। त्यस्तै राष्ट्रिय सभामा वाम गठबन्धनसँग सहकार्य गरेर महतो राजपालाई तीन सिट दिलाउन चाहन्छन्। जसमा महतोले आफु निकट दुई जनालाई चर्चामा ल्याएका छन्। वाम गठबन्धनसँग नजोडिने हो भने दुई सिटमात्र राजपाको खातामा पर्छ।

महतो अहिले प्रदेश सभा र प्रतिनिधि सभामा सबभन्दा बलियो भइसकेका छन् भने रणनीति सफल हुँदा राष्ट्रिय सभामा पनि उनी बलियो बन्दैछन्। अर्थात् पार्टीको संसदीय दल महतोको करिब कब्जा हुँदैछ।
 

सत्ता यात्राको तयारी

मिडियामा देखिएको विवादभन्दा फरक सम्बन्ध छ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राजपाका नेता राजेन्द्र महतोबीच। तेस्रो मधेश आन्दोलन उत्कर्षमा रहेका बेला ओलीको एक फोनमा महतो काठमाडौं आएका थिए। त्यसपछि आन्दोलन सिथिल भएको थियो। पछिल्लो निर्वाचनमा महतोलाई जिताउन ओलीले सहयोग गरेका थिए।

चुनाव जितेर काठमाडौं फर्केपछि सबभन्दा पहिले ओली निवास बालकोटमा पुगेका थिए उनी। उद्देश्य ओलीलाई धन्यवाद दिनु थियो। 

रोचक के छ भने, मधेशी गठबन्धन भित्रको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ओलीलाई भेट्नुअघि महन्थ ठाकुरसँग छलफल गरेका थिए। तर, ठाकुर कै पार्टीका नेता महतोले ओलीलाई भेटेपछि मात्र ठाकुरलाई जानकारी भएको थियो।

अहिले महतो वाम गठबन्धनसँग तालमेल गरेर राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुन चाहेका छन् भने त्यसपछि सरकारमा पनि सहभागी हुने रणनीतिमा छन्। जसका लागि महतोले राष्ट्रिय सभामा वाम गठबन्धनसँग ६ सिट माग गरेका छन्। र, वाम गठबन्धनले मधेशी गठबन्धनलाई ६ सिट दिने तयारी गरेको छ जसमा तीन सिट फोरम र तीन सिट राजपाले पाउनेछ।

तर, ठाकुर लोकतान्त्रिक गठबन्धनको पक्षमा छन्। आफुहरु लोकतन्त्र पक्षधर रहेकोले लोकतान्त्रिक शक्तिलाई सहयोग गर्नु पर्ने तर्क ठाकुरको छ।

महतोले आफूसहित राजपाका नेता महेन्द्र यादव, शरत्सिंह भण्डारी, राजकिशोर यादवलाई आफ्नो पक्षमा पारिसकेका छन्। उनीहरु पनि वाम गठबन्धन सँग सहकार्यमा लचक देखिएका छन्।

ठाकुर तालमेलका विषयमा पार्टीभित्र एक्लो परेका छन्।
 

मिडिया परिचालन : महतोलाई बाहुबली, ठाकुरलाई कटपा

राजपाभित्र मिडियामा सबभन्दा बढी पकड हुने नेता हुन् राजेन्द्र महतो। महतो पछिल्लो समय मिडियामा आफू सबैभन्दा शक्तिशाली भएको देखाउन थालेका छन्। 

राष्ट्रिय मिडियाहरुमा महतोले आफ्ना एजेन्डा स्थापित गर्न सफल भएका छन्। 

ठाकुर निकट एक महासचिवले पहिलोपोस्टसँग भने, ‘महतोजी मिडिया म्यानेजमेन्टमा माहिर खेलाडी हुनुहुन्छ। उहाँले आफूलाई बाहुबली र ठाकुरजीलाई कटप्पा बनाएर देखाउँदै हुनुहुन्छ।’

पार्टी एकता ताका कस्तो थियो राजपा

तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध ६ वटा पार्टी मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भयो। जसमा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) सबभन्दा ठूलो दल थियो भने सद्भावना पार्टी दोस्रो र तराई मधेश सदभावना पार्टी (तमसपा) र राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) तेस्रो तथा नेपाल सदभावना पार्टी (नेसपा) र मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) चौथो।
पार्टीभित्र महन्थ ठाकुरपछि शक्तिशाली नेताका रुपमा हृदयेश त्रिपाठी देखिएका थिए। तर, अध्यक्ष मण्डलको आधारमा महतो थिए। 
महतोसँग कै टकराबको कारण देखाएर त्रिपाठी पार्टीबाट बाहिरिएका थिए। त्रिपाठीले पार्टी छोड्ने क्रममा दिएका अन्तर्वार्ताहरुमा महतो र त्रिपाठीबीचको विवाद देखिन्थ्यो।

त्यसबेला ठाकुर पक्षधर बलिया नेताहरु त्रिपाठी, बृजेश गुप्ता, जंगीलाल राय यादव र ईश्वर दयाल मिश्रहरु अहिले पार्टीमा छैनन्। सर्वेन्द्रनाथ शुक्ला पनि चुनाव हारेका छन्। जसकारण ठाकर पार्टीभित्र झनै कमजोर भएका छन्। र, महतो हावी हुँदै गएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell