काठमाडौं : प्रदेश तथा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ विजयी भएर प्रमाणपत्र पाएपछि पाएको पदवी हो 'माननीय'। तर, अहिले चुनाव जिते पनि केही विजयीलाई माननीय पद जोगाउन निकै हम्मे परेको छ। जनताले भारी मतले जिताएका माननीय नै अहिले जनतासामु छैनन्। अझ भनौं - भागी भागी हिँड्नु परेको छ। प्रहरीका वरिष्ठ अधिकृतहरु ठट्यौली शैलीमा उनीहरुलाई 'फरार माननीय' भन्छन्।
प्रहरीको फरार सूचीमा रहेका माननीयहरुमा सबैभन्दा बढी चर्चित छन् - पूर्व डिआइजी नवराज सिलवाल। नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाको लागि ललितपुर क्षेत्र नम्बर १ बाट विजयी सिलवालले जितको जस्न मनाएलगत्तै पलायन हुनुपर्यो। उनी देशभित्र नभएको प्रहरीको दावी छ। बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा प्रहरीले छानविन शुरु गरेको केही दिनदेखि उनी फरार छन्।
प्रहरी प्रधान कार्यालयले गत बुधवार सिलवालविरुद्ध सातै प्रदेशमा सर्कुलर जारी गर्दै जहाँ भेटे पनि समात्न पत्राचार गरिसकेको छ। सिलवाल भने आफू फरार नभएको र ललितपुरमा नै भएको दावी गर्दै आएका छन्। तर, १ सय ६५ जनाको सङख्यामा पुगेको प्रहरी टोलीले चार समूह बनाएर पूरै सर्च गर्दा पनि सिलवालको सुइँको मिलेन।
सोमबार त इन्टरपोलमा डिफ्युजन नोटिससमेत जारी भयो। महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी गणेश ऐर भन्छन्, ' हामी सिलवाललाई भेट्न साथ पक्राउ गर्छौं।'
आइतवार प्रदेश सभामा निर्वाचित तथा समानुपातिक प्रदेश सांसद्हरुले सपथ ग्रहण गरे। प्रदेश ४ को मनाङबाट प्रदेशसभा 'ख'मा निर्वाचित स्वतन्त्र सांसद् राजीव गुरुङ उर्फ दीपक मनाङेले पनि शपथ लिन पाउँथे। तर, आइतवार मनाङेले सपथ लिन पाएनन् मात्र होइन फरार नै हुनु पर्यो। पोखरामा आयोजित सपथ कार्यक्रममा मनाङ्गे आउलान् र समाउँला भनेर प्रहरी ढुकेर बसेको थियो। मनाङ्गे अर्का 'फरार माननीय' हुन्। प्रहरी कार्यालयका प्रमुख एसपी अशोक सिहं भन्छन्, 'मनाङ्गे आएका भए समात्थ्यौं। हामीलाई भेट्यो कि समात्नू भन्ने आदेश छ।'
मनाङ्गे फौजदारी कसुरमा सजायँ नभोगी नै उम्मेदवार बनेर जिते पनि। नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका उनी संविधानको धारा १७८ अनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी रहेछन्। उनलाई कर्तव्य ज्यान मुद्दामा २०६९ सालमा पुनरावेदन अदालत पाटनले दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको रहेछ। हालै सर्वोच्चले त्यही मुद्दाका अन्य चारजनामाथि फैसला सुनाउँदा मनाङ्गेको मुद्दाको प्रकरण बाहिरियो। उनले पुनरावेदनको म्याद समेत गुजारेका छन्। २०६१ सालमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा मनाङसहितलाई सरकारले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो।
थरुहट आन्दोलनको नेतृत्व गर्दै आएका रेशम चौधरीलाई पनि जनताले नै सांसद बनाइदिए। कैलाली क्षेत्र नम्बर एकबाट चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याएर विजयी भए। तर, उनी लामो समयदेखि भूमिगत जीवन बिताउँदै आएका छन्। चुनावमा पनि उनी भूमिगत नै थिए। चौधरीले भूमिगत रुपमा नै प्रतिनिधि सभाको उम्मेद्वारी दिए। विजयी पनि भए। तर विजयी भएको प्रमाणपत्र समेत बुझ्न पाएका छैनन्। टीकापुर घटनाको मुख्य अभियुक्त बनाएर चौधरीलाई प्रहरीले सर्वाधिक खोजीको सूचीमा राखेको छ। चौधरीलाई जहाँ भेटिएपनि पक्राउ गर्ने प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।