PahiloPost

May 15, 2024 | २ जेठ २०८१

जिल्ला सभापतिहरुले हलेसी महादेवसँग मागे: कांग्रेसलाई पहिलो पार्टी बनाईदेउ



नेत्र तामाङ

जिल्ला सभापतिहरुले हलेसी महादेवसँग मागे: कांग्रेसलाई पहिलो पार्टी बनाईदेउ
फोटो: मीना रिजाल

काठमाडौं: स्थानीय तहको निर्वाचनमात्र हैन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमासमेत पराजय व्यहोरेको नेपाली कांग्रेस यतिबेला हारको कारणको खोजीमा रहेको छ।

कांग्रेसको जिल्ला नेतृत्व सम्हालिरहेका जिल्ला सभापतिहरुलाई हारको छटपटी उत्तिकै छ।

यही मेसोमा कांग्रेस पौडेल पक्षका भनिएका तीन दर्जन जिल्ला सभापतिहरु सोमबार खोटाङको हलेसीमा भेला बस्न पुगे।

पार्टी शूद्धीकरण र सुदृढीकरण गर्नुपर्ने उद्देश्यसहित हलेसी पुगेका जिल्ला सभापतिहरुले भेला बस्नुअघि हलेसी महादेवको दर्शन गरे।

नेपाली कांग्रेस खोटाङको आयोजनामा भएको भेलाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले पराजय व्यहोर्नुको मूल कारण नेतृत्वको कमजोरी रहेको ठहर निष्कर्ष निकाल्यो।

भेलाले निर्वाचनको समीक्षा तत्काल हुनुपर्ने, भूकम्पपीडित, अग्निपीडित, बाढीपीडितलाई राहत बढाउनुपर्ने माग सरकार र पार्टीको नेतृत्वसमक्ष राख्ने निर्णय गरेको सिन्धुपाल्चोकका कांग्रेस सभापति विकास लामाले जानकारी दिए।

'आजको बैठकमा सभापतिहरुको राष्ट्रिय भेला तत्काल बोलाउन नेतृत्वसमक्ष माग गर्ने र महासमितिको बैठक बोलाउन माग गर्ने निर्णय भएको छ,' लामाले भने, 'विधानअनुसार पार्टी चलाउनका लागि पनि राष्ट्रिय भेला र महासमिति बैठक आवश्यक छ।'


भेलामा सिँचाइमन्त्री सञ्जय गौतम,  सिँचाइ राज्यमन्त्री अमरसिंह पुन, नुवाकोटका जगदीश्वरनरसिंह केसी, भक्तपुरका दुर्लभ थापा, सिन्धुपाल्चोकका कांग्रेस सभापति लामालगायत ३५ जिल्लाका पार्टी सभापति सहभागी थिए।

भेलामा सहभागी सभापतिहरुले भूकम्पपीडितलाई सरकारले वेवास्ता गरेको भन्दै राहत बढाउनसमेत माग गरेको छ। लामाले भने, 'भूकम्पपीडितलाई राहत पाँच लाखसम्म पुर्याउन सरकारसँग माग राख्ने निर्णय भएको हो। यसमा हामी जोडदार रुपमा प्रस्तुत हुन्छौ।'

त्यसैगरी भेलाले भावी रणनीति निर्माण, संघीय संरचना अनुसारको विधान पनि परिमार्जन गर्नुपर्ने माग नेतृत्वसमक्ष गर्ने भएको छ।

विधान परिमार्जनका लागि आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति


भेलाले सङ्घीय संरचनानुसार विधान परिमार्जनका लागि काभ्रेका सभापति मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले जानकारी दिए। 

समितिका सदस्यमा पाँचथरका नरेन्द्र केरुङ, कालीकोटका हर्कबहादुर बम, धादिङका रमेश धमला र सिन्धुलीका उज्ज्वल बराल रहेका छन्। 

नेतृत्वको सदवुद्धि आओस भनी हलेसीमा प्रार्थना-केसी


उक्त भेलाले तत्काल जिल्ला सभापतिको चौथो राष्ट्रिय भेला तत्काल बोलाउन नेतृत्वलाई दबाव दिने निर्णय गरेको  नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले बताए।

उनले भने, 'हाम्रो भेलाले तत्काल जिल्ला सभापतिहरुको राष्ट्रिय सम्मेलन बोलाउन नेतृत्वलाई दबाव दिने निर्णय गरेको छ। भेलामा सम्मेलन गर्ने ठाउँसमेत तय भयो। नुवाकोटमा सम्मेलन हुनेछ। मिति तय गर्ने जिम्मा केन्द्रीय समितिलाई दिने निर्णय भयो।'

त्यसै गरी भेलाले पञ्चायतकाल तथा माओवादी द्वन्द्वका क्रममा मारिएका सबैलाई शहीद घोषणा गरिनुपर्ने, मृगौलापीडितलाई ५ हजार उपलब्ध गराउने निर्णय तत्काल कार्यन्वयनमा आउनुपर्नेलगायत माग सरकारसमक्ष राख्ने निर्णय गरेको छ।

खोटाङको धार्मिक पर्यटकीय क्षेत्रमा पुगेका कांग्रेस सभापतिहरुले  ‘काँग्रेस जिल्ला सभापतिहरुको प्रतिबद्धता: हलेसी धार्मिक पर्यटन विकासमा हाम्रो प्रतिबद्धता’ भन्ने नारासमेत तय गरेको छ। 

कांग्रेस खोटाङले धार्मिक तथा पर्यटकीयस्थल हलेसीको विकास तथा प्रवर्द्धन गर्न नारा तय गरिएको जनाएको छ। 

खोटाङको धार्मिक पर्यटनको शुरुवात कांग्रेसले गरेको नुवाकोटका सभापति केसीले बताए।

हलेसी महादेवलाई कांग्रेस सभापतिहरुले के मागे त भन्ने प्रश्नमा केसीले भने, 'सबैभन्दा ठुलो दल कांग्रेस दोस्रो बनेको छ। पक्कै पनि अर्को पाँच वर्षपछि पहिलो दल होस भनेर सबै सभापतिहरुले चाहना हो। सबैले मनमनमा प्रार्थना गर्नुभयो होला। मैले पनि प्रार्थना गरें। अर्कोचाहि नेतृत्वको सद्वुद्धि आओस भनी पनि प्रार्थना गर्यौ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell