PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

सकियो राखेप च्याम्पियनसिप, उसुमा आर्मीलाई सर्वाधिक १५ स्वर्ण



पहिलोपोस्ट

सकियो राखेप च्याम्पियनसिप, उसुमा आर्मीलाई सर्वाधिक १५ स्वर्ण

काठमाडौं : इटहरीमा १३औं राष्ट्रिय उसु प्रतियोगिता सकिएसँगै राष्ट्रिय खेलकुद परिषद्ले पहिलो पटक आयोजना गरेको राखेप च्याम्पियनसिप सम्पन्न भएको छ। च्याम्पियनसिपअन्तर्गत अन्तिम प्रतियोगिताको रुपमा रहेको उसु प्रतियोगिता सोमबार सम्पन्न भएपछि राखेप च्याम्पियनसिपमा समावेश सबै २९ खेलको प्रतियोगिता सकिएको हो।

विभागीय टोली नेपाल आर्मी सर्वाधिक १५ स्वर्ण ३ रजत र ७ कास्य जित्दै १३औँ उसु राष्ट्रिय प्रतियोगितामा सोमबार पहिलो भएको छ।इटहरीमा भएको प्रतियोगितामा एपीएफ ८ स्वर्ण, ३ रजत र १ कांस्यका साथ दोश्रो भयो।

तेश्रो भएको नेपाल प्रहरीले १ स्वर्ण, ४ रजत र २ कांस्य हात पार्‍यो। सान्सौं र थाउलोमा गरी २५ स्पर्धा समावेश प्रतियोगितामा बाँकी १ स्वर्ण मध्यमाञ्चलले प्राप्त जित्यो। मध्यमाञ्चलले थप २ रजत र ९ कांस्य पनि जित्यो।

अन्तिम दिन थाउलोको महिला नान् छ्वान अलराउन्डमा १२औं सागकी स्वर्णधारी आर्मीकी निमा घर्ती मगरले स्वर्ण जितिन्। निमाले १५.६५ अंक जोडिन्। पूर्वाञ्चलकी अनु राई (१४.२५ अंक) दोश्रो तथा मध्यपश्चिमाञ्चलकी सरु सोती (१२.९५ अंक) तेश्रो भए। सोही स्पर्धाको पुरुषमा एपीएफका युवाराज तामाङ (१७.९५ अंक) ले स्वर्ण, मध्यपश्चिमाञ्चलका दीपक हमाल (१७.८० अंक) ले रजत र आर्मीका विशाल थापा सिन्जाली (१६.३५ अंक) ले कांस्य जिते।

पुरुष छान छ्वानमा आर्मीका विजय सिन्जाली पहिलो भए। उनले ८.७० अंक बटुले। दोश्रो भएका एपीएफका कुमार सिन्जाली मगरले ८.६० तथा तेश्रो भएका मध्यमाञ्चलका सञ्जयराज पुटुवारले ७.७५ अंक बनाए। उक्त स्पर्धाको महिलामा आर्मीकी सुस्मिता तामाङ (८.५५ अंक), मध्यमाञ्चलकी जुनु स्याङबो लामा (६.८० अंक) र सुदूरपश्चिमाञ्चलकी एलिशा खाती (६.५५ अंक) क्रमशः शीर्ष तीन स्थानमा रहे।

पुरुष कुन्सु ताउ सुमा आर्मीका विश्व बुढा मगर पहिलो, मध्यपश्चिमाञ्चलका राजिव तामाङ दोश्रो र मध्यमाञ्चलका राजु लामा तेश्रो भए। उनीहरुले क्रमशः १७.६०, १६.६० र १६.३० अंक जोडे। महिला चेन सु छियाङ सुमा आर्मीकी ओशिन राई १६.७५ अंकसहित पहिलो भइन्। एपीएफकी कविता थापा मगर (१६.२०) दोश्रो र पूर्वाञ्चलकी मनीषा ठटाल (१०.६५) तेश्रो बने।

सान्सौंतर्फ पुरुष ४८ केजीमा एपीएफका अशोक खालिङले फाइनलमा पूर्वाञ्चलका गणेशकुमार लिम्बूलाई पराजित गर्दै स्वर्ण जिते। ५२ केजीमा मध्यमाञ्चलका कान्ति लामा तथा ५६ केजीमा एपीएफका अमर सुनारले स्वर्ण हात पारे। फाइनलमा कान्तिले आर्मीका मदनकुमार श्रेष्ठ र अमरले प्रहरीका पदमबहादुर ठकुल्लालाई हराए। ६० केजीमा एपीएफका मंगलप्रसाद थारुले फाइनलमा प्रहरीका मुकेश पण्डितको चुनौती समाप्त पार्दै स्वर्ण हात पारे। ६५ केजीमा आर्मीका वीरमान लामा पहिलो भए। उनले प्रहरीका समन घुस्रीलाई फाइनलमा हराए।

७० केजीमा आर्मीका चित्रसिंह ठकुरी र ७५ केजीमा आर्मीकै पदम राई च्याम्पियन बने। फाइनलमा चित्रले पश्चिमाञ्चलका योगेन्द्र थापा तथा पदमले पूर्वाञ्चलका चन्द्र लिम्बूमाथि जित निकाले। ८० केजीमा पहिलो भएका एपीएफका निकेश श्रेष्ठले फाइनलमा पश्चिमाञ्चलका अनुप खड्काको चुनौती पन्छाए। ८५ केजीमा एपीएफका भुपेन्द्र शाहले पहिलो स्थान कब्जा गरे। उनले फाइनलमा प्रहरीका अजय महर्जनलाई पराजित गरे। ९० केजीमा आर्मीका किरण साउद र ९० केजीमाथि एपीएफका तेजबहादुर पल्लीले स्वर्ण प्राप्त गरे।

सान्सौंकै महिला ४८ केजीमा सर्मिला राई र ५२ केजीमा एलिना चौधरी पहिलो बने। आर्मीकाद्वय उनीहरुले क्रमशः पश्चिमाञ्चलकी रेखा बोहरा र सुदूरपश्चिमाञ्चलकी रिता ठकुल्लालाई फाइनलमा हराए। ५६ केजीमा प्रहरीकी जुनी राईले एपीएफकी निशा विक, ६० केजीमा आर्मीकी लुमन्ती श्रेष्ठले मध्यपश्चिमाञ्चलकी गोमा आफ्रे, ६५ केजीमा एपीएफकी मनीषा राउतले पूर्वाञ्चलकी अस्मिता आप्तेन तथा ७० केजीमा आर्मीकी विन्दु पुन मगरले मध्यपश्चिमाञ्चलकी देवी श्रेष्ठलाई हराउँदै पहिलो स्थानमा रहे।

उसुको समाप्तिसंगै ‘मेरो गौरव, मेरो पौरख, मेरो खेलकुद’ भन्ने नारासाथ पुस ९ गतेबाट सुरु भएको राखेप च्याम्पियनसिपमा समावेश सम्पूर्ण २९ खेलका राष्ट्रिय प्रतियोगिता सम्पन्न भएका छन्। राखेप च्याम्पियनसिपअन्तर्गत यसअघि स्क्वास, भलिबल, सेपाकताक्रो, एथलेटिक्स, बक्सिङ, ह्यान्डबल, तेक्वान्दो, कुस्ती, फेन्सिङ, बास्केटबल, जुडो, टेबलटेनिस, राष्ट्रिय तेक्वान्दो, कबड्डी, सुटिङ, भारोत्तोलन, गल्फ, साइक्लिङ, हक्की, खो खो, आर्चरी, फुटबल, ब्याडमिन्टन र सफ्ट टेनिस उद्घाटनपछि सम्पन्न भएको हो। उद्घाटन अघि प्राविधिक कारणले पौडी, ट्रायथलन, कराते र लनटेनिसको राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell