किभ: अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा भएको आक्रमणमा परी मृत्यु हुनेहरूमध्ये सात जना युक्रेनी नागरिक रहेको पुष्टि भएको छ।
इन्टरकन्टीनेन्टल होटलमा भएको आतङ्कवादी आक्रमणमा परी उनीहरु मारिएको युक्रेनी राजदूतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले सोमबार समाचार सम्प्रेषण गरेका छन्।
ताजकिस्तान र अफगानिस्तानका लागि युक्रेनी राजदूत भिक्टोर निकित्युकले पिडितहरू अफगान एयरलाइन्समा कार्यरत कर्मचारी रहेको जानकारी दिए।
घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको थियो। ती मध्ये १४ जना विदेशी नागरिक रहेका थिए।
अफगानी सुरक्षा फौजसँग दोहोरो भिडन्त समेत भएको सो दुखद् घटनामा पाँच जना आक्रमणकारीको पनि मृत्यु भएको सुरक्षा श्रोतले जनाएको छ।
शनिबार रातिदेखि सुरु भएको भीडन्त झण्डै १२ घण्टापछि आइतबार मात्रै सरकारी सुरक्षाफौजले जितेर होटल आफ्नो नियन्त्रणमा लिएको थियो।
अफगानिस्तानस्थित युक्रेनी कुटनीतिक कर्मचारीहरूले मृतक युक्रेनीहरूको शव अफगानिस्तानबाट उनीहरूको घरठाँउमा लैजानका लागि तयारी गरिरहेको निकित्युकले जानकारी दिए।
होटलमा भएको आक्रमणका बारेमा तालिवान लडाकू समूहले यसअघि नै जिम्मा लिइसकेको छ। रासस/सिन्ह्वा