PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

राष्ट्रियसभाका उम्मेदवार छान्न दलहरु आन्तरिक छलफलमा, अहिलेसम्म को–को छानिए?



पहिलोपोस्ट

राष्ट्रियसभाका उम्मेदवार छान्न दलहरु आन्तरिक छलफलमा, अहिलेसम्म को–को छानिए?

काठमाडौँ: राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार छान्न प्रमुख राजनीतिक दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको मनोनयन हुँदैछ। मंगलबारसम्म उम्मेदवार छनोट गर्ने कसरतमा दलहरु छन्। प्रमुख तीन दलसहित संसद्मा प्रतिनिधित्वका लागि राष्ट्रिय दलको मान्यताप्राप्त दलहरु आन्तरिक गृहकार्यमा छन्।

नेकपा एमालेले प्रदेश नम्बर ५, ६ र ७ का लागि १३ जना उम्मेदवारको नाम सोमबार नै टुंगो लगाइसकेको छ। माओवादी केन्द्रसँगको भागबण्डा अनुसार अब उसले बाँकी ४ प्रदेशका लागि १६ उम्मेदवारको टुंगो बुधबार लगाउँनेछ।
 

उम्मेदवार छनोटका लागि एमाले स्थायी समिति बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज पनि बस्दैछ। बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।

प्रदेशबाट सिफारिस नामावलीमा छलफल गर्दै उम्मेदवार टुंग्याउने काम भइरहेको छ।

नेपाली कांग्रेसले प्रदेश नम्बर ७ मा उम्मेदवार तय गरिसकेको छ। कांग्रेस अन्य प्रदेशको उम्मेदवार छनोटको गृहकार्यमै छ।

कांग्रेसले प्रदेश ७ मा खुलाबाट बद्रीप्रसाद पाण्डे, महिलाबाट तारादेवी भट्ट, दलितबाट शेरीराम पार्की र अपांगबाट छत्रराज जोशीको नाममा सहमति गरेको छ।

माओवादी केन्द्रमा उम्मेदवार छनोटको जिम्मा तीन शीर्ष नेतालाई दिइएको छ। माओवादी केन्द्र पनि उम्मेदवार छनोटको गृहकार्यमा नै छ।

उम्मेदवार छनोटका लागि गठित कार्यदलले उम्मेदवारको रोष्टरसहित अन्तिम निर्णय गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको छ।

राष्ट्रिय जनता पार्टीले पनि अध्यक्ष मण्डललाई नै उम्मेदवार छनोटको जिम्मेवारी दिएको छ। सोमबार साँझसम्म भएको छलफल सहमतिमा नपुगेपछि उम्मेदवार छनोटको जिम्म अध्यक्ष मण्डललाई दिइएको हो।

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनको बुधबार उम्मेदवारको मनोनयन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell