
काठमाडौं: राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्ने विषयमा मधेशी गठबन्धनभित्रका दलहरु राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालबीच छलफल सुरु भएको छ।
बैठक दिउँसो १ः ३० बाट राजपाको पार्टी कार्यालय बबरमहलमा सुरु भएको छ।
वाम गठबन्धनसँग तालमेल गर्ने अथवा कांग्रेससँग तालमेल गर्ने विषयमा छलफल केन्द्रीत रहेको फोरम नेतृ रेणु यादवले बताइन्।
राजपाको राजनीतिक समितिले तालमेल र उम्मेदवार चयनको जिम्मेवारी अध्यक्ष मण्डललाई दिएको थियो। तर हालसम्म अध्यक्ष मण्डलले निर्णय लिन सकेको छैन। अध्यक्ष मण्डलको बैठकमा वाम गठबन्धनसँग तालमेल गर्ने पक्षमा नेताहरु देखिएका छन्।
यता उपेन्द्र यादव पनि वाम गठबन्धनसँग तालमेल गर्ने पक्षमा छन्।
राजपा र फोरमबीचको आजको बैठकले तालमेलको टुंगो लगाउने राजपाका नेताहरुले बताएका छन्।
बैठकमा फोरमबाट अध्यक्ष उपेन्द्र यादव र नेतृ रेणु यादव तथा राजपाका अध्यक्ष मण्डलका सदस्यहरु सहभागी छन्।