PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

कोसँग मिल्दा मधेशी गठबन्धनलाई फाइदा? कांग्रेस कि वामपन्थी गठबन्धन?



बीपी साह

कोसँग मिल्दा मधेशी गठबन्धनलाई फाइदा? कांग्रेस कि वामपन्थी गठबन्धन?

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालसहितको मधेशी गठबन्धन अहिले वाम गठबन्धन र नेपाली कांग्रेस दुवैको प्राथमिकतामा परेको छ। सत्ता समीकरण नजिकिँदै गर्दा दुवै पक्ष मधेशी गठबन्धलाई आफूतिर ल्याउन खोज्दैछन्। त्यसको सुरुवात नजिकिँदै गरेको राष्ट्रिय सभा निर्वाचन हुँदैछ। यसअघिको राजनीतिक घटनाक्रमलाई मान्ने हो भने राजपा कांग्रेस निकट देखिएको थियो भने फोरम वाम गठबन्धनतिर ढल्केको।

तर, अहिलेसम्म औपचारिक निर्णय मधेशी गठबन्धनले गरिसकेको छैन राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा। मधेशी गठबन्धनले संविधान संशोधनको मुद्दा छाडेको छैन। संविधान संशोधन गर्ने पक्षसँग सहकार्य गर्ने मधेशी गठबन्धनको मुख्य अडान पनि हो।

संशोधनको विषयमा कांग्रेसमा लचकता देखिए पनि कांग्रेससँग संविधान संशोधन गराउन सक्ने सामर्थ छैन। प्रतिनिधि सभा निर्वाचनबाट पहिलो शक्ति दोस्रोमा खुम्चिसकेको छ। र, राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसले गरेको प्रस्ताव पनि मधेशी गठबन्धनका लागि प्रितकर छैन। 
कांग्रेससँगको छलफलमा सहभागी नेताका अनुसार कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा दुई नम्बर प्रदेशमा जम्मा चार सिट दिन तयार छ गठबन्धनलाई। मधेशी गठबन्धनको माग हो पाँच सिट। कांग्रेसले त्यसलाई अस्वीकार गरिसकेको छ। जबकि, एकल संक्रमणीय प्रणाली अनुसार मधेशी गठबन्धनले स्वतः चार सिट पाउँदैछ।

यसअघि प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा कांग्रेसले मधेशी गठबन्धनसँग तालमेल गर्ने भने पनि अन्तिम समयमा सिट संख्यामा असहमति हुँदा तालमेल भत्कियो। मधेशी गठबन्धनले कांग्रेससँग प्रतिनिधि सभाको २० सिट मागेको थियो। कांग्रेससँग नमिल्दा पनि मधेशी गठबन्धनले २१ सिट प्रत्यक्षमा जित हासिल गर्योे। त्यसको सबैभन्दा बढी मार कांग्रेसले भोग्न पर्योे।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वकै सरकारले संविधान संशोधन प्रस्ताव सदनमा लैजाँदा कांग्रेस र राप्रपाका सांसदहरु अनुपस्थित भए। संशोधन सोझै फेल भयो। 

राजपाका एक महासचिवले भने, ‘कांग्रेससँग सती जानु हुँदैन। कांग्रेस नरम देखिए पनि मधेशको सवालमा सकारात्मक छैन। एमाले मधेश विरोधी देखिए पनि प्याकेजमा सहमति भए वाम गठबन्धनसँग तालमेल गर्नबाट पछि हट्नु हुँदैन। त्यहाँ माओवादी पनि छ। जो मधेशप्रति अलिक लचक देखिएको छ।'

वाम गठबन्धनसँग राष्ट्रिय सभाको निर्वाचन र संविधान संशोधन तथा आगामी सरकारका विषयमा मधेशी गठबन्धनले प्याकेजमा सहमति खोज्दैछ।

राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले वाम गठबन्धनसँग प्याकेजमा सहमतिको प्रयास भइरहेको पहिलोपोस्टलाई बताए।

राष्ट्रिय सभाको निर्वाचनमा दुई नम्बर प्रदेशमा वाम गठबन्धनले मधेशी गठबन्धनलाई ६ सिट दिन तयार भएको छ। कांग्रेससँग तालमेल गरेको खण्डमा राजपाले मात्र चार सिट पाउनेछ भने वाम गठबन्धनसँग तालमेल गरेको खण्डमा ६ सिट सुनिश्चित हुनसक्छ।

संविधान संशोधनका विषयमा वाम गठबन्धनले पनि गृहकार्य सुरु गरेको देखिन्छ। मधेशी गठबन्धनले उठाउँदै आएको संविधान संशोधनको अन्तर्वस्तुमा वाम गठबन्धनले छलफल अगाडि बढाएको छ। वाम गठबन्धनसँगको वार्तामा सहभागी नेताका अनुसार सीमांकन हेरफेर बाहेकका विषयमा वाम गठबन्धन सकारात्मक रहेको छ।

त्यस्तै आगामी सरकारमा पनि मधेशी गठबन्धनलाई उचित स्थान दिने वाम गठबन्धनले प्रस्ताव गरेको छ। जसका लागि आज मंगलबार वाम गठबन्धन र मधेशी गठबन्धनको कार्यदलबीच निर्णायक छलफल हुँदैछ। 

राजपा र फोरमका शीर्ष नेतृत्वको छलफलपछि वाम गठबन्धनसँग कार्यदलले छलफल गर्दैछ। 

राजपाका नेता यादवले भने, ‘अहिलेसम्म हामीले अन्तिम निर्णय गरिसकेका छैनौं। कार्यदलले छलफल गरिरहेको छ। संविधान संशोधनको विषयमा कुरा मिले वाम गठबन्धनसँग तालमेल हुन सक्छ।’

फोरम नेतृ रेणु यादवले पहिलोपोस्टसँग भनिन्, ‘राजपा र फोरमबीच छलफल भएको छ। अहिले संयुक्त रुपमा वाम गठबन्धनसँग छलफल हुँदैछ। मंगलबार साँझसम्म निर्णय आउन सक्छ। वाम गठबन्धनसँग सहकार्यको संभावना बढेको छ। वाम गठबन्धन बाहेकले संविधान संशोधन गराउन सक्ने स्थिति छैन।’

यता कांग्रेस मधेशी गठबन्धनले कांग्रेसँगको छलफल पनि जारी राखेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell