काठमाडौं: निर्वाचन आयोगले राष्ट्रियभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पुरा भएको जनाएको छ।
प्रदेशको उच्च अदालमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा भोली बिहान १० बजे देखी ४ बजे सम्म उम्मेदवारी दर्ता गराउने व्यवस्था आयोगले मिलाएको छ।
आयोगले प्रदेशको उच्च अदालत रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।
उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको मतदाता नामावलीको उतार र १० हजार रुपियाँ धरौटी जम्मा गरेको नगदी रसीद वा बैङ्क भौचर सहित उम्मेदवारीले मनोनयनपत्र दर्ता गराउन जानु पर्ने छ।
दलको उम्मेदवारको हकमा मनोनयनको औपचारिक पत्र, दलित समूहबाट निर्वाचित हुने सदस्य पदका लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका÷ नगरपालिका वा अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेश गर्नुपर्ने छ।
यसैगरी, अपाङ्गता भएको वा अल्पसङ्ख्यक समूहबाट निर्वाचित हुने पदका लागि उम्मेदवारी दिने अपाङ्गता भएको व्यक्तिले नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अपाङ्गताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अल्पसङ्ख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका÷नगरपालिका तथा नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेश गर्नुपर्ने छ।
उम्मेदवार हुनका लागि स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता रहेको हुनुपर्ने र ३५ वर्ष पूरा भएको हुनुपर्ने छ।
त्यसरी मतदाता नामावलीमा नाम रहेको उम्मेदवारले सात प्रदेशमध्ये जुनसुकै प्रदेशमा पनि उम्मेदवारी दर्ता गराउन सक्ने छ तर त्यसका लागि समर्थक र प्रस्तावक भने जुन प्रदेशमा उम्मेदवारी दर्ता गराउने हो, त्यही प्रदेशको हुनुपर्ने व्यवस्था रहेको छ।