पोखरा : १६औं आहा रारा गोल्डकप फुटबलमा आयोजक सहारा क्लब प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ।
मंगलबार भएको उद्घाटन खेलमा धनगढीको सुदूरपश्चिम स्पोर्टिङ क्लबले पोखराको सहारलाई ३–० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।
पोखरा रंगशालामा भएको खेलमा सुदूरपश्चिमका लागि धनबहादुर थापाले २५औं मिनेटमा पहिलो गोलगरेका थिए। पहिलो हाफमा एक गोलले पछि परेको सहारा दोस्रो हाफमा खेलमा फर्न सकेन। यता सुदूरपश्चिमले दोस्रो हाफमा दुई गोल थप्यो। खेलको ७५औं मिनेटमा सुदूरपश्चिमका लागि मनिराम चौधरीले गोल गरे।
इन्जुरी टाइममा सुदूरपश्चिमका लागि राकेश हमालले तेस्रो गोल गरे। त्यसअघि पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रतियोगिताको उद्घाटन गरेका थिए।
भोलिको खेल भारतको युनाइटेड सिक्किम फुटवल क्लवबिरुद्ध धरान फुटवल क्लबबीच हुने छ।
माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ए डिभिजन क्लब, मोफसलका टिम र विदेशका दुई टिमसहित १२ टिमको सहभागिता छ।
प्रतियोगिताको विजेताले यसपटक ७ लाख १ हजार तथा उपविजेताले ३ लाख ५१ हजार पाउनेछन्। अघिल्लो संस्करण भन्दा विजेतालाई २ लाख तथा उपविजेतालाजई १ लाख बढी प्रदान गरिनेछ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई हिरो ड्यास स्कुटर तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजारसहित ट्रफी प्रदान गरिनेछ।
यस्तै सर्वाधिक गोलकर्ताले नगद २५ जहार पाउनेछन्।