काठमाडौं : स्थानीय तहको निर्वाचनमा आफ्नो बलियो पकड रहेको भरतपुरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणुलाई काँधमा बोकेर विजयी गराएको नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यमा भने एक माओवादी पीडितलाई उम्मेदवार बनाएको छ।
राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसले प्रदेश ६ मा अपाङ्ग तथा अल्पसंख्यकबाट गोपालप्रसाद शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। शर्मालाई तत्कालीन माओवादीले दुवै आँखामा तेजाब हालेका थिए। माओवादी जनयुद्धले उनलाई दृष्टिविहीन बनाएको हो।
रुकुम खोलागाउँ–९ का शर्मालाई गाउँकै माओवादी कार्यकर्ताले ज्यान लिने उद्देश्यले आक्रमण गरेका थिए। २०५५ साल पुसमा पाहुना बनेर आएका माओवादी कार्यकर्ताले आँखामा तेजाव र मट्टितेल छर्केर आगो लगाएका थिए। ५७ वर्षीय शर्माको परिवारलाई त्यतिबेला माओवादी कार्यकर्ताले गाउँ निकाला गरी सम्पत्ति कब्जा गरेको थियो।
नेपाली कांग्रेसका तर्फबाट गाविस अध्यक्षसमेत भइसकेका शर्मा पार्टीको महाधिवेशन प्रतिनिधि हुन्।