
काठमाडौं : नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि दुई नम्बर प्रदेशबाट एक जना मात्र उम्मेदवार उठाएको छ। जसमा एमालेले पहाडी मुलका सुमन प्याकुरेललाई खुल्ला तर्फबाट उम्मेदवार बनाएको हो।
अर्थात् दुई नम्बर प्रदेशमा मधेशीको भोट पाएर गैर मधेशीलाई उम्मेदवार बनाउँदा एमालेभित्र आलोचना भएको छ।
पाँच नम्बर प्रदेशमा एमालेले पाएको चार सिटमध्ये पश्चिम नवलपरासीका रामलखन हरिजनलाई दलित कोटाबाट उम्मेदवार बनाएको छ।
बाँकी अन्य कुनै प्रदेशमा एमालेले मधेशीलाई उम्मेदवार बनाएको छैन। सातैवटै प्रदेशमा एमालेले राष्ट्रिय सभा सदस्यका लागि २९ जना उम्मेदवार उठाएको छ। जसमध्ये एक जना मधेशी दलितलाई मात्र उम्मेदवार बनाएको छ।
यसैगरी वाम गठबन्धनको अर्को घटक माओवादी (केन्द्र)ले पनि दुई नम्बर प्रदेशमा पहाडी मुलकी शशीकला दाहाललाई उम्मेदवार बनाएको छ। महिला कोटाबाट उठेकी दाहालको जित सुनिश्चित छ भने माओवादीले अर्का उम्मेदवार पनि खडा गरेको छ। मधेशी दलित महेन्द्र पासवानलाई पनि माओवादीले उम्मेदबार बनाएको हो। जबकि संघीय समाजवादी फोरम नेपालले रापमृत पासवानलाई दलित कोटाबाट उम्मेदबार बनाएको छ। उक्त सिट फोरमले जित्ने सम्भावना छ।
माओवादीले जित सुनिश्चित नभएका एक जना मधेशी दलित पासवानलाई उम्मेदबार बनाउनुबाहेक अन्य कुनै मधेशीलाई उम्मेदबार बनाएको छैन। माओवादीले देशैभरि १४ सिटमा उम्मेदबार खडा गरेको छ।
यता नेपाली कांग्रेसले दुई नम्बर प्रदेशमा दुई जना उम्मेद्वार उठाएको छ। जसमा दुवै जना मधेशी छन्। जीतेन्द्रनारायण देव र मुक्ता कुमारी यादवलाई उम्मेद्वार बनाएको छ।
बाँकी कुनै प्रदेशमा कांग्रेसले मधेशीलाई उम्मेदबार बनाएको छ।
त्यसैगरी मधेश गठबन्धनले दुई नम्बर प्रदेशमा पाएको चार सिटमा चारै जना मधेशीलाई उठाएको छ। फोरमले मधेशी दलित रामपृत पासवान र मधेशी महिला प्रमिला यादवलाई उम्मेद्वार बनाएको छ भने राजपाले बृषेशचन्द्र लाल र रमेश यादवलाई उम्मेदवार बनाएको छ।
देशैभरिबाट पाँचवटै राष्ट्रिय पार्टीले जम्मा आठ जना मधेशीलाई राष्ट्रिय सभाको उम्मेदबार बनाएको छ। जसमा ५० प्रतिशत अर्थात् ४ जना मधेशी उम्मेदबार मधेशी पार्टीबाटै हुन्। भने प्रमुख तीन पार्टीबाट चार जना मधेशी मात्र उम्मेदबार बनेका छन्।