
विवादित फिल्म पद्मावत बिहीवार हलमा मात्र रिलिज हुँदैछैन, राजस्थानको अदालतमा पनि हेरिने भएको छ। सञ्जयलीला भन्साली निर्देशित फिल्म रोक्न लगातार मुद्दामाथि मुद्दा परेको थियो। साथै फिल्मको विरोधमा सुरु भएको हिंसा अझै रोकिएको छैन भलै सबै न्यायिक निकायले फिल्म रिलिजलाई हरियो झन्डा देखाइसकेका छन्।
पद्मावत फिल्म राजस्थान हाइ कोर्टमा प्रदर्शन गरिने भएको हो। अदालतमा फिल्म प्रदर्शन गराउँदा सुरक्षा व्यवस्थाको माग भन्सालीको टीमले गरेको छ। त्यसलगत्तै न्यायाधीश सन्दीप मेहताले सरकारलाई फिल्म स्क्रिनिङ हुने समयमा अदालत क्षेत्रमा सुरक्षा कडा पार्न निर्देशन दिएका छन्। फिल्ममा परेको एउटा मुद्दाको सुनुवाईका क्रममा अदालतले फिल्म देखाउन भनेको थियो। फिल्म देखाएपछिमात्रै अन्तिम फैसलाको टुंगो लाग्नेछ। फिल्ममा ऐतिहासिक तथ्यहरुको दुरुपयोग भएको छ कि छैन भन्ने हेर्नका लागि अदालतमै फिल्म देखाउन लागिएको हो।
भन्सालीका कानुनी सल्लाहकार निशान्त बोराले अदालतमा फिल्म देखाउन तयार भएको जानकारी दिए। सँगै उनले फिल्म देखाउँदा हुनसक्ने असुरक्षाबारे पनि चासो प्रकट गरे।
मुद्दाको अर्को सुनुवाई फेब्रुअरी २ मा हुनेछ। अदालतले फिल्म कहिले स्क्रिनिङ हुने तय गरिसकेको छैन। वीरेन्द्र सिंह र नागपाल सिंहले गत वर्ष नै फिल्मविरुद्ध इतिहास तोडमरोड गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेका थिए।