काठमाडौं : गोरखा क्षेत्र नम्बर २ मा वाम गठबन्धनबाट बाहिरिएका डा बाबुराम भट्टराईविरुद्ध उम्मेदवार थिए नारायणकाजी श्रेष्ठ। सिंगो वाम गठबन्धन उनीविरुद्ध उत्रिएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि प्रचण्डसम्म बाबुरामविरुद्ध गोर्खा नै पुगेर टक्कर दिए।
यस्तो अवस्थामा बाबुरामलाई काँधमा बोकेको थियो नेपाली कांग्रेसले। नेपाली कांग्रेसका नेता/कार्यकर्ता बाबुरामलाई जिताउने अभियानमा सक्रिय भएर लागेका थिए। कांग्रेसको साथ पाएसँगै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गर्न सफल भए।
त्यसकै गुन तिर्दै राष्ट्रिय सभा सदस्यको निर्वाचनमा बाबुराम भट्टराई संयोजक रहेको पार्टी नयाँ शक्तिले कांग्रेसलाई साथ दिने भएको छ। नयाँ शक्ति कार्यालय संयोजक गंगानारायण श्रेष्ठले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसलाई मतदान गर्ने जनाएका छन्।
प्रदेश २,३, ४ र ५ गरी २४६ मतभार रहेको नयाँ शक्तिले प्रदेश ३ मा खुला तर्फ कांग्रेसका राधेश्याम अधिकारीलाई सहयोग गर्ने निर्णयसमेत गरेको छ।
विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रियसभाको गरिमालाई बलियो बनाउने र विपक्षीहरुको सकारात्मक भूमिका र पहल कदमीलाई समेत संसदीय लोकतन्त्रको मान्यता अनुसार सुदृढ गर्ने अभिप्रायले नेपाली कांग्रेसका ३ नं. प्रदेशको खुलातर्फका उम्मेदवार बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई समर्थन गर्ने र सोही अनुसार मतदान गर्ने निर्णय गरेको छ।' प्रदेश ३ मा नयाँ शक्तिको ६६ मतभार रहेको छ।