PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

कृषि राज्यमन्त्री प्रसाईसहित ३ महिला प्रदेश १ बाट राष्ट्रिय सभामा निर्विरोध



अनन्तराज न्यौपाने

कृषि राज्यमन्त्री प्रसाईसहित ३ महिला प्रदेश १ बाट राष्ट्रिय सभामा निर्विरोध

विराटनगर: कृषि राज्य मन्त्री सरिता प्रसाईसहित प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा ३ महिला निर्विरोध निर्वाचित भएका छन्। नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य उम्मेदावारी दिएकी राज्यमन्त्री प्रसाईंसहित वाम गठबन्धनका २ जना निर्विरोध छानिएका हुन्।

वाम गठबन्धनका तर्फबाट निर्विरोध चुनिनेमा एमालेका नैनकला ओझा र माओवादी केन्द्रका वीना पोखरेल छन्।

राष्ट्रिय सभामा प्रदेश १ बाट महिलातर्फ ३ जनाको सिटमा ३ जनाको मात्र उम्मेदवारी परेपछि प्रसाईं, ओझा र पोखरेल निर्विरोध निर्वाचित भएको सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए।

प्रदेश १ बाट राष्ट्रिय सभामा ३ महिलासहित अन्य (खुला)–तर्फबाट ३, अल्पसङ्ख्यक र दलितबाट १–१ सहित ८ जना एकल सङ्क्रमणीय पद्धतिबाट निर्वाचित हुने कानुनी व्यवस्था छ।

अधिकृत दुलालका अनुसार अन्य (खुला), अल्पसङ्ख्यक र दलितका सिटमा भने निर्वाचन हुने भएको छ। 

प्रदेश १ बाट राष्ट्रिय सभाको उम्मेदवारीका लागि बुधबार स्थानीय वीरेन्द्र सभागृहमा नामाँकन पत्र दर्ता गर्ने कार्यक्रम थियो।  

जसअनुसार अन्य (खुला)–तर्फ वाम गठबन्धनबाट एमालेका परशु मेघी गुरुङ, खड्गबहादुर बस्नेत र हरिचरण शिवाकोटीले उम्मेदवारी दिएका छन्।

यस समूहमा नेपाली कांग्रेसका रमेशजङ्ग रायमाझी उम्मेदवार भएका छन्।

त्यस्तै अल्पसङ्ख्यकतर्फको १ सिटमा वाम गठबन्धनका तर्फबाट एमालेका अगमप्रसाद वान्तवा राई र नेपाली काङ्ग्रेसका तर्फबाट उद्योगपति महेश जाजूले मनोनयन पत्र दाखिला गरे।

दलिततर्फको १ सिटमा वाम गठबन्धनका खेम नेपाली र काङ्ग्रेसका बिनकुमार विश्वकर्माले उम्मेदवारी दिए।

प्रदेश १ मा १४ जिल्ला छन्। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदाताका रूपमा प्रदेश सभा सदस्य र स्थानीय तहका निर्वाचित प्रमुख र उपप्रमुख एवम् अध्यक्ष र उपाध्यक्ष हुनेछन्।

एक प्रदेश सभा सदस्यले ४८ मतभार (स्ट्रेन्ट)–को हैसियत राख्छ। त्यस्तै स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुख एवम् अध्यक्ष र उपाध्यक्षहरूमा एक जनाको मतभार १८ रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रदेशमा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख–उपप्रमुख एवम् अध्यक्ष–उपाध्यक्षको सङ्ख्या १ सय ५४ छ।
त्यस्तै एमालेका प्रदेश सभा सदस्य ५१ छन्।

माओवादी केन्द्रका स्थानीय तहमा १६ र प्रदेश सभा सदस्य १५ जना छन्।

नेपाली काङ्ग्रेसतर्फ स्थानीय तहमा ९६ र प्रदेश सभामा २१ जना छन्।

त्यस्तै राप्रपामा स्थानीय तहमा ३ र प्रदेश सभामा १ जना निर्वाचित छन्।

सङ्घीय समाजवादी फोरममा स्थानीय तहबाट २ र प्रदेश सभाबाट ३ जना मतदाता हुनेछन्।

नेपाली काङ्ग्रेसका जाजू र विश्वकर्मालाई वाम गठबन्धनका उम्मेदवारसित प्रतिस्पर्धा गर्न फोरम र राप्रपासित तालमेल गर्दा पनि धौधौ पर्ने देखिन्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell