PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

गजेन्द्रनारायण सिंहको १६ औं पुण्यतिथि : कहाँ हरायो सद्भावना?



बीपी साह

गजेन्द्रनारायण सिंहको १६ औं पुण्यतिथि : कहाँ हरायो सद्भावना?

तराई कांग्रेस पतनको लामो समय पछि गजेन्द्रनारायण सिंहले पुनः मधेश राजनीतिलाई अगाडि बढाएका थिए। राजनीतिक दल प्रतिबन्ध रहेका बेलामा सांस्कृतिक एवं वैचारिक संगठनका रुपमा नेपाल सद्भावना परिषद् गठन गरी राजनीति थालेका थिए। त्यसअघि उनी नेपाली कांग्रेसमा सक्रिय थिए।

सन् १९९० मा उनले सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीको रुपमा स्थापित गरेका थिए। उनले पार्टी गठन गर्नुको मुख्य उद्देश्य नेपालमा क्षेत्रीय सद्भाव कायम गर्नु थियो जसकारण पार्टीको नाम नै सद्भावना राखेका थिए।

उनले मुख्य तीनवटा एजेण्डालाई अघि सारेका थिए। नेपालमा बसोबास गर्ने विभिन्न समुदाय र क्षेत्रलाई अधिकार सम्पन्न बनाउन संघीयता, राज्यमा सबै जात र समुदायको पहुँचका लागि समावेशी र मधेशलाई एकीकृत गर्न हिन्दी भाषालाई राष्ट्रिय भाषाको मान्यता।

सिंहको पहिलो एजेण्डा संघीयता पूरा भएको छ। तर, उनले माग गरेको स्वयत्तता सहितको संघीयता नेपालमा आएको छैन। नेपालमा संघीयता ल्याउनुको मुख्य श्रय सिंहलाई नै जान्छ।

त्यसपछि उनले उठाएको समावेशीका माग पनि पूरा भएको छ। राज्य समावेशी हुँदै गएको छ। तर, समावेशीका नाममा बलियो समुदायले समावेशीको मर्मलाई समाप्त पार्दैछ।

हिन्दी भाषाले मधेशलाई जोडेको छ तर मान्यता पाउन कठिन छ। मधेशका लागि अहिले सम्पर्क भाषाको रुपमा हिन्दी स्थापित भइसकेको छ तर सरकारी मान्यता पाएको छैन।

सिंहका अधिकांश माग सम्बोधन भए। तर, उनले स्थापना गरेको र उनले चाहेको सद्भाव भने अझै कायम भइसकेको छैन। 

तीन पटकसम्म लगातार भएको मधेश आन्दोलनले केही अधिकार स्थापित गराएको छ। उनले चाहे झै नेपालको भावनात्मक एकीकरण भएको छैन। राजनीतिक घटनाक्रमले मधेश र गैर मधेशबीचको भावनात्मक दुरी नजिक्याउन सकेको छैन।

सिंहले स्थापना गरेको नेपाल सद्भावना परिषद् अस्तित्वमा छैन। उनले स्थापना गरेको नेपाल सद्भावना पार्टी पनि अस्तित्वमा छैन। 
सिंहको मृत्युपछि पार्टी विभिन्न टुक्रामा बाँडिए। यतिसम्म कि सदभावना नामधारी पार्टीको संख्या आठ पुगेको थियो कुनैबेला। 

तर, अहिले कुनै पनि सद्भावना सक्रिय छैन। सिंहको उत्तराधिकारीका रुपमा देखिएका राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी राजपामा समाहित भएको छ भने सिंहको छाप र झण्डासहितको नेपाल सद्भावना पार्टी पनि राजपामा मर्ज भइसकेको छ। 
अर्थात् नेपालको संसदीय राजनीतिमा सिंहको पार्टी अब रहेन। 

पछिल्लो समय विकास तिवारीले नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)लाई अस्तत्विमा ल्याए तर राजनीतिक दलको मान्यतासमेत पाइसकेको छैन।

आज सिंहको १६ औं पुण्य तिथिमा उनका मुख्य माग संघीयता र समावेशी पूरा भएको छ। तर, उनले स्थापना भएको पार्टी नै समाप्त भएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell