काठमाडौं : शिवम् न्यु डायमण्ड एकेडेमीले रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राख्दै शीर्ष स्थानमा उक्लिएको छ। बुधवार भएको खेलमा न्यू डायमण्डले स्प्रिङडेलमाथि ३–० को सहज जित हात पार्दै ३ अंक जोडेको हो। न्यू डायमण्डले स्प्रिङडेललाई २५–७, २५–१, २५–३ को सेटमा हरायो।
प्रतियोगितामा अपराजित रहेको शिवम् न्यू डायमण्डलको ७ खेलबाट २१ अंक भएको छ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा भएको अन्य खेलमा टप्स माबी र श्रीगाउँ खेलकुद विकास समितिले सफलता हात पारेका छन्। आफ्नो चौथो खेलमा सफलता हात पार्ने क्रममा पश्चिमाञ्चलको टप्स उच्च माविले पारामाउण्ट हाईस्कुललाई २५–१०, २५–७, २५–७ को सोझो सेटमा हरायो। अर्को खेलमा दाङको श्रीगाउँले न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई २५–४, २५–१६, २५–१० को सेटमा पराजित गरेको छ।
प्रतियोगितामा विभागीय टिम एपीएफ क्लब पनि ६ खेलबाट शतप्रतिशत जित हात पार्दै १८ अंकको साथमा लिगको दोस्रो स्थानमा छ। तेश्रो स्थानमा रहेको टप्सले ४ खेलबाट १२ अंक जोडेको छ। ६ खेलमा ४ सफलता हात पारेका नेपाल पुलिस र नेपाल आर्मीको पनि समान १२ अंक रहेको छ।
प्रतियोगिताको विजेताले ३ लाख २५ हजार तथा उपविजेताले १ लाख ७० हजार हात पार्नेछन्।