
काठमाडौँः सरकारले सातवटै प्रदेशमा प्रदेशको प्रमुख सचिव तोकेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रदेशको प्रमुख सचिव तोकेको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार हाल क्षेत्रीय प्रशासक रहेका पाँच जना क्षेत्रीय प्रशासक र एक वरिष्ठ सहसचिवको बढुवा गरी प्रदेशको प्रमुख सचिव चयन गरिएको हो।
यस्तै राष्ट्रिय सूचना आयोगका सचिवलाई पनि प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ।
सरकारको निर्णय अनुसार प्रदेश १ को प्रमुख सचिवमा राजेश्वरमान सिंह, २ मा यादव कोइराला चयन भएका छन्। कोइरालालाई बढुवा गरी प्रदेशको प्रमुख सचिवमा पठाइएको हो। उनी हाल अख्तियारमा कार्यरत छन्। सिंह हाल क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा प्रमुख छन्।
निर्णय अनुसार रेश्मीराज पाण्डेलाई प्रदेश ३ को प्रमुख सचिव बनाइएको छ। क्षेत्री प्रशासक रहेका लक्ष्मण अर्याललाई प्रदेश ४ को प्रमुख सचिवमा चयन गरिएको छ। पाण्डे क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाका प्रमुख हुन्। भने अर्याल क्षेत्रीय प्रशासन कार्यालय पोखराका प्रमुख हुन्।
राष्ट्रिय सूचना आयोगमा सचिव रहेका शंकर पाठकलाई प्रदेश ५ को प्रमुख सचिवका रुपमा खटाइएको छ। प्रदेश ६ मा सुरेश प्रधान र ७ मा लक्ष्मीराम पौडेललाई प्रमुख सचिवको जिम्मेवारी दिइएको छ। प्रधान क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत र पौडेल दिपायलका प्रमुख हुन्।
पढ्नुस्: ७ वटै प्रदेश प्रमुखको कार्यालयमा खटिए ९३ निजामती कर्मचारी
यसअघि सरकारले सात सहसचिवलाई प्रदेश सरकार सचिवालयको सचिव रहनेगरी खटाइसकेको छ। प्रदेशको संरचना निर्माणपछि करिव १०० उच्च सरकारी अधिकारी प्रदेशसभा सचिवालय र मन्त्रिपरिषद् कार्यालयका लागि खटिएका छन्।