काठमाडौं: प्रदेश सभा सरकारमा सबैभन्दा पहिले सानो मन्त्रिमण्डल बनाउने वाम गठबन्धनबीच सहमति भएको छ।
पार्टी एकता, सरकार गठन र राष्ट्रियसभा सदस्य निर्वाचनको गृहकार्य गर्न कार्यदल गठन भएको वाम गठबन्धनको संयुक्त कार्यदलको सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए।
'अाज बसेको बैठकमा सुरुमा सानो मन्त्रिमण्डल बनाउने एमाले र माओवादीबीच सहमति भएको छ,' पाण्डेले भने।
यसबारे अन्तिम टुंगो आइतबार बस्ने बैठकले गर्ने उनले बताए।
प्रदेश ७ मध्ये प्रदेश १ र ३ मा एमालेको प्रदेश सरकार बन्ने निश्चित भएको छ। प्रदेश २ मा मधेशवादी दलको सरकार बन्ने भएको छ।
बाँकी प्रदेश सरकार वाम गठबन्धनकै बन्ने र प्रदेश ६ र प्रदेश ७ को मुख्यमन्त्रीमा भने माओवादीले दाबी गरेका छन्।