
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्य सम्पादन मूल्याङकन फायल किर्ते गरेको अभियोगमा प्रहरी खोजी गरिरहेका पूर्व डिआइजी नवराज सिलवालमाथि नयाँ सरकार बनेपछिमात्र अनुसन्धान हुने बताएका छन्।
ओलीको बोली सिलवालको जस्तै सुनियो। सिलवालले भनेका थिए - अहिलेको प्रहरीले होइन, स्वतन्त्र निकायले अनुसन्धान गरोस्। ओलीले पनि उनीमाथि नयाँ सरकारले छानविन गर्ने भन्दै देउवा सरकारले गरेको व्यवहारप्रति आलोचना गरेका थिए।
बिहीवार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नयाँ सरकार बनेपछि सिलवालको विषयमा छानविन हुने बताएका हुन्। अध्यक्ष ओलीले भने, 'पछि बन्ने सरकारले यथार्थमा छानविन गर्छ। जो गतल देखिन्छ कारबाही हुन्छ।'
सर्वोच्च अदालतले सिलवालले कामसू कीर्ते गरेको र त्यसबारे अनुसन्धान थाल्न निर्देशन दिएपछि काठमाडौं प्रहरीले उनलाई खोज्न थालेको थियो। सिलवालसँग सोधपुछ र बयान लिनुपर्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई काठमाडौं प्रहरीले गत पुस १८ गते पत्राचार गरेको थियो। तर उनी देशभित्र नभेटिएको प्रहरीले जनाएको छ।
पूर्व डिआइजी नवराज सिलवाल देश भित्र नभेटिएपछि खोजी गर्न प्रहरीले डिफ्युजन नोटिस समेत जारी गरेको छ। अध्यक्ष ओलीले 'अनेक अपराध गरेर फरार भएका' भए पनि सरकार कानमा तेल हालेर सुतेको तर एक निर्वाचित सांसदलाई यसरी गर्ने लागेको बताए। अध्यक्ष ओलीले सिलवालको बचाउ गर्दै भने, 'निर्वाचित सांसद खोज्न १ सय ६५ प्रहरी खटाएको छ। उनी सासंद हुन् सपथ खान त आउलान् नि?'
दीपक मनाङ्गेबारे के बोले ओलीले
एमाले अध्यक्ष ओलीले दीपक मनाङ्गेका विषयमा पनि मुख खोलेका छन्। उनले भने, उहाँको के मुद्दा हो?''अदालतको फैसला सरकारले रद्ध गर्छ भन्न सक्दिन। स्वतन्त्र सांसद उठ्नु भयो,' ओलीले भने, 'जित्नु भो। त्यो उहाँको कुरा हो, हाम्रो होइन।'
निर्वाचनमा नेकपा एमालेले मनाङ्गेलाई जिताउन आफ्नो उम्मेदवारको नाम फिर्ता लिएको थियो भने मनाङ्गे एमालेका उम्मेदवारको प्रचारमा समेत हिँडेका थिए।