
काठमाडौं : वर्तमान सरकारले गरेका निर्णय, लिइरहेका नीति र चालिएको कदमहरुबाट असन्तुष्ट रहेको नेकपा एमालेले बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गर्यो।
कार्यक्रमको अन्त्यतिर भने माहोल केही रोचक देखियो। सँधै ऋषि धमलाको प्रश्नबाट सुरु हुने कार्यक्रममा आज भने उनले कार्यक्रमको अन्त्यतिर मात्र प्रश्न गरे। उनको प्रश्नसँगै एमाले पार्टी कार्यालयको माहोल बदलियो।
धमालाको प्रश्न थियो, 'यसअघि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले विगतका सरकाले गरेका निर्णयहरुलाई उल्ट्याएको थियो। यो सरकारले गरेका निर्णयहरु पनि त्यसै गरी उल्ट्याइन्छ? जनता जान्न चाहान्छन प्रष्ट पार्नुहोस्।'
'जनता जान्न चाहान्छन्' धमालाको थेगो नै हो। उनले प्रश्न गर्दा नै कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले जनता जान्न चाहन्छन भन्न सुरु गरिसकेका थिए।
कार्यक्रममा उपस्थित सञ्चारकर्मी र कार्यकर्ता तब रमाए जब ओलीले उनकै थेगे प्रयोग गर्दै जवाफ दिए।
'तपाईँको उत्तर वक्तव्यमै उल्लेख गरिएको छ। जनता जान्न चाहन्छन् म दोहोयाउँछु।'
सधैँ सुरुमै प्रश्न गर्ने ऋषि धमलाले आज अन्त्यतिर प्रश्न गरेपछि ओलीले उनलाई हाँस्दै प्रश्न गरे।
'जनता जान्न चाहान्छन, तपाईँ किन ढिलो आउनुभयो?,' ओलीले यति भनेपछि हलमा हाँसो फैलियो।
धमालाको प्रश्नहको जवाफ दिँदै ओलीले भने, 'सरकार बनाउन जनमतको आवश्कता पर्छ। पार्टी एकता हामी दुई पाटीको कुरा हो।'
'सरकार बनाउन दुई पार्टी मिलेर मात्र हुँदैन। दुई पार्टीले प्राप्त गरेको जनादेशले सरकार निमार्ण गर्ने हो। पार्टी एकता हन्छ। सरकार गठन अघि भए पनि वा सरकार गठनपछि भए पनि कुरा एकै हो।'