PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

न्यु डायमण्ड र एपीएफको अपराजित यात्रा कायमै



पहिलोपोस्ट

न्यु डायमण्ड र एपीएफको अपराजित यात्रा कायमै

काठमाडौं : शिवम् न्यु डायमण्ड एकेडेमी र विभागीय टोली नेपाल एपीएफ क्लबले राजधानीमा जारी १३औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेका छन्।

प्रतियोगिताको आठौं दिन सकिदा शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्डले पारामाउन्ट हाई स्कुललाई २५–३, २५–२, २५–७ को सोझो सेटमा पराजित गर्दा एपीएफले श्रीगाँउ दाङलाई २५–११, २५–११, २५–९ को सोझो सेटमा पराजित गर्दै लिगमा अपराजित रहन सफल भय।

अपराजित रहेको न्यु डायमण्ड ८ खेलबाट २४ अंकसहित शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको एपीएफ २१ अंकसहित दोस्रो स्थानमा यथावत छ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा बिहिबार भएको प्रतिस्पर्धात्मक खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले टप्स उच्च माविलाई ३–१ को सेटमा पराजित गर्‍यो। पुलिसले टप्समाथि पहिलो सेटमा २५–१६ को जित निकालेको थियो। दोस्रो सेट भने टप्सले २५–१६ ले आफ्नो पक्षमा पार्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए। प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट भने पुलिसले २६–२४ ले जित्दै २-१ को अग्रता बनायो। चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै पुलिस विजयी भएको हो।

प्रतियोगितामा टप्सको यो पहिलो हार हो। जितपछि पुलिस ७ खेलबाट १५ अंकसहित तेस्रो स्थानमा रहेको छ। टप्स भने ६ खेलबाट १५ अंकसहित चौथो स्थानमा उक्लिएको छ। ७ खेलबाट आर्मी १५ अंकसहित पाचौं स्थानमा रहेको छ।

बिहिबार त्रिभुवन आर्मी क्लबले थ्री स्टार एकेडमीलाई २५–६, २५–५, २५–५ को सोझो सेटमा हरायो। मेघौली स्पोर्टस् क्लबले पूर्वाञ्चलमाथि १७–२५, २५–१७, २५–१४, २१–२५, १५–१३ को रोमाञ्चक जित निकाल्यो। अर्को खेलमा टप्सले न्यु डायमण्ड स्पोर्टस् क्लबमाथि २५–८, २५–१२ र २५–६ को सहज जित निकाल्यो।

प्रतियोगिता अन्तर्गत शुक्रबार पनि ६ खेल हुने आयोजकले जनाएको छ। पहिलो खेलमा पुलिसले पूर्वाञ्चल, स्प्रिङडेलले मेघौली, पुलिसले थ्री स्टार एकेडेमी, श्रीगाँउ दाङले त्रिभुवन आर्मी, एपीएफले पूर्वाञ्चल र शिवम् नयु डायमण्डले टप्ससँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell