
काठमाडौंः धैर्य क्यान्सर फाउन्डेसनले ब्रिटिस गोर्खा कलेज बाँसबारीमा ‘क्यान्सर बिरामीहरुको मानसिक स्वास्थ्य’ विषायक युवा केन्द्रित चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा उपस्थित नेपाल क्यान्सर हस्पिटल हरिसिद्घिका मानसिक डाक्टर रिसभ कोइरालाले क्यान्सर रोगको भौतिक सम्बन्ध जतिकै गहिरो मानसिक सम्बन्ध हुने कुरा बताए। उनले क्यान्सर रोगीको उपचारमा मानसिक स्वास्थ्यको विषय अनिवार्य रुपमा जोडिनुपर्ने सुझाव दिए।
विकसित देशहरुमा क्यान्सर पीडितहरुको मानसिक स्वास्थ्यलाई विशेष महत्वका साथ हेरिने बताउँदै डा. कोइरालाले नेपालमा भने यसको उपचार भौतिक रुपमा मात्र केन्द्रित हुने बताए। नेपालमा क्यान्सर र मनको नाता सम्बन्धी जनचेतना अभिवृद्घिको यस्तो उदाहरणीय कार्यक्रममा भने आफू पहिलो चोटी उपस्थित हुन पाएको उनको भनाई थियो।
उनले भने, ‘क्यान्सर लाग्नसाथ रोगीको मृत्यु भइहाल्दैन, किन आत्तिने? मन बलियो बनाए बाँकी जीवन अझ सुन्दर बन्छ, यो रोग लागेपछि रोगले भन्दा मानसिक निराशाले इम्युन सिस्टम ‐रोग प्रतिरोधात्मक क्षमता) कमजोर हुन गई बिरामी झन सारो हुँदै जान्छ। मानसिक निराशा र चिन्ताले क्यान्सर बिरामीमा ३० प्रतिशतले रोग बृद्घि हुन्छ।’
फाउन्डेसनकी अध्यक्ष टेरिसा तामाङले यसता चेतनामूलक कार्यक्रम सर्वसाधरण जनतासम्म पुग्नुपर्ने बताइन्। संस्थाको शुरुदेखि हालसम्म र निरन्तर यस प्रकारको कार्यक्रम सञ्चालन गर्दै जाने उनको थप भनाइ थियो।