काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) को विद्यार्थी संगठनका महासचिव चन्द्र भुषण साहसहितका विद्यार्थी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आयोजित कार्यक्रममा विद्यार्थी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गर्नेहरुमा महासचिव साहसहित तमलोपाको विद्यार्थी संगठनका पूर्व उपाध्यक्ष अजित पप्पु यादव, राजपाका विद्यार्थी संगठनका सचिव ज्ञानकुमार कुशवाहा, मधेशी विद्यार्थी समाजका कोषाध्यक्ष बसन्त ठाकुर, राजपाका विद्यार्थी नेताहरु आशिष देव, दीपेन्द्र साह, बरुण निसाद, खुसीलाल यादव, ज्ञानु यादव, सरोज यादव, सोनित ढुङ्गेल, अमन श्रेष्ठ, निरज कुशवाहा, गायिका सोलिना कुंवर, संगीतकार सन्तोष राज लगायत रहेका छन्। पार्टी प्रवेश गर्नेहरुमा अधिकांश इञ्जिनियरिङका विद्यार्थी छन्।
पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै त्यसका लागि प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुने बताए। प्रचण्डले भने ‘हामीले राजनीतिक क्रान्ति धेरैपटक ग¥यौं, अब आर्थिक क्रान्ति र समृद्धिको यात्रामा अघि बढ्नुछ, त्यसका लागि तपाईँहरु जस्ता प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुन्छ। हामी मधेशलाई सम्बोधन गर्ने कोशिसमा छौँ। तर, अब सबै कुरा शान्तिपूर्ण रुपमा, संविधानको दायराबाट पूरा गर्न सकिन्छ। मधेशलाई विकास र समृद्धि चाहिएको छ, बामपन्थी सरकारले त्यसमा जोड दिनेछ।’
पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता प्रभु साहले मधेशमा विद्यमान विभेदको सम्बोधन विकास र समृद्धिबाट सम्भव हुने बताए।