काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास र समृद्धिको लागि आफ्नो कर्तव्य पुरा गर्ने बताएका छन्।
सामुदायिक रेडियोहरुको पोखरा सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, 'को रिसाउँछ को खुसी हुन्छ मलाई त्यसबाट केही लिनु छैन। तर म देशको विकासका लागि प्रतिवद्ध छु। मेरो जिम्मेवारी पुरा गर्छु।'
समानता र जनताको हकहित नै सत्य कुरा भएकोले यसैमा आफू समर्पित हुने भन्दै ओलीले भने, ' गर्नुपने के हो, सही के हो, न्याय देश विकास र जनताको हक अधिकारका लागि के गर्नुपर्यो समानताका लागि के गर्नु पर्ने हो त्यही गर्छु।'
उनले अफु लोभलालचबाट मुक्त रहेकोले काम गर्न सजिलो रहेको उल्लेख गर्दै नेपाली जनताले विश्वास गरेर महत्वपूर्ण ठाउँमा पुगेको बताए।
सरकारको पछिल्लो कदमप्रति हिजोमात्र पत्रकार सम्मेलन गरेपछि सरकारमा रहेका दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमालेको धारणाप्रति कटाक्ष गरेका थिए।
सोही प्रसंग उल्लेख गर्दै ओलीले आफुलाई भ्रष्टाचार नगर्ने भएकोले विपक्षी दलहरुले समेत रुचाउने गरेको बताए।
उनले भने, 'कसैकसैले सञ्चार माध्यममा गाली गरेपनि भ्रष्टचार गरेको छैन भन्ने थाहा छ। गर्दैन भन्ने पनि थाहा छ। देशका लागि काम गर्छ भन्ने पनि सबैलाई थाहा छ। त्यसकारण भित्रभित्र माया गर्छन।'
ओलीले थपे, 'कार्यक्रम सकिएपछि विश्वप्रकाशजीलाई सोध्नुहोस। उहाँले के भन्नु हुन्छ। के गर्नु राजनीति मिल्दैन, मान्छे ठीकै छ।'
