PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रतिनिधित्व खोज्दै मुस्लिम, आन्दोलनको तयारी



बीपी साह

प्रतिनिधित्व खोज्दै मुस्लिम, आन्दोलनको तयारी

काठमाडौं : चार प्रतिशत जनसंख्या रहेको मुस्लिम सम्प्रदायको राष्ट्र सभामा शून्य प्रतिनिधित्व हुने करिब निश्चित भएको छ। त्यसले नराम्ररी बिच्केका छन् मुस्लिम नेता।

‘संविधानमा मुस्लिमलाई एउटा अलग क्लस्टर बनाएर राखेको छ। तर, प्रतिनिधित्वका सवालमा प्रमुख पार्टीले नै मुस्लिमलाई छाडे,’ मुस्लिम गठबन्धनका संयोजक समिम मिया अंसारीले पहिलोपोस्टसँग भने, ‘मुस्लिमको चार दशमलव चार प्रतिशत जनसंख्या छ तर अहिलेको अवस्थामा राष्ट्रिय सभामा मुस्लिम शून्य प्रतिशत हुनेछ।’

राष्ट्रिय सभामा मुस्लिमको प्रतिनिधित्व नभएको भन्दै मुस्लिम गठबन्धनसहित संयुक्त मुस्लिम भातृ संगठनहरुले विरोध जनाएका छन्। उनीहरुले चरणबद्ध रुपमा विरोधका कार्यक्रमसमेत गर्ने बताए।

शुक्रबार भातृ संगठनहरुले काठमाडौंमा पत्रकार सम्मेलन गरी विरोध जनाउँदै राष्ट्रिय सभामा मुस्लिमको प्रतिनिधित्व हुनु पर्ने माग गरे।

राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता भइसकेको छ तर कुनै पनि दलबाट मुस्लिम उम्मेदबार बनेका छैनन्।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष सेराज अहमद फारुकीले मुस्लिमविहीन राष्ट्रिय सभाको कल्पना गर्न नसक्ने बताए।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा मुस्लिम मुक्ति मोर्चा नेपालका अध्यक्ष अक्तहर हुसेन फारुकीले भने, ‘संविधानले व्यवस्था गरेको अधिकारलाई नै बेवास्ता गरेर राष्ट्रिय सभाको परिकल्पना गरिएको छ, यसले मुस्लिम समुदायलाई हेर्ने दृष्टिकोण कस्तो छ भन्ने कुरालाई इंकित गर्दछ।’

अब मनोनितबाट भए पनि मुस्लिमलाई राष्ट्रिय सभामा प्रवेश गराउनु पर्ने उनीहरुले माग गरे। राष्ट्रिय सभामा मुस्लिमको प्रतिनिधित्व नभए चरणबद्ध आन्दोलन गर्ने बताए।

यता मुस्लिम गठबन्धनका संयोजक अंसारीले आइतबार गठबन्धनले पाँचवटै राष्ट्रिय दलका नेताहरुलाई ज्ञापन पत्र बुझाइने बताए।

राष्ट्रिय सभाको सम्भावना कम भए पनि प्रतिनिधि सभामा मुस्लिमको संख्या बढाउन सकिने सम्भावना बढी रहेको अंसारीले बताए। अहिले प्रतिनिधि सभामा मधेशी दलबाट दुई जना र कांग्रेसबाट एक जना मुस्लिम विजयी भएका छन्।

एमाले र माओवादीबाट एक जना पनि प्रतिनिधि सभामा आउन नसकेको सुनाउँदै अंसारीले आफुहरु चरणबद्ध रुपमा दबाब सिर्जना गर्ने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell