
पोखरा : विभागीय टोली नेपाल पुलिस क्लब १६औं आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सुमन लामाले गरेको एक मात्र निर्णायक गोल मद्दतमा झापा-११ लाई १-० ले पराजित गर्दै पुलिसले अन्तिम आठमा स्थान बनाएको हो।
शुक्रबार पोखरा रगंशालामा भएको अन्तिम प्रिक्वाटरफाइनलमा सुमन लामाले १२औँ मिनेटमै अभिषेक रिजालको पासमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा एक गोलले पछि परेको झापाले दोश्रो हाफको अन्त्यतिर आक्रामक खेल प्रर्दश गरेपनि गोल गर्न सकेन र पहिलो चरणबाटै बाहिरिन पुग्यो।
आजको खेलमा पुलिस क्लबका रवि पासवान म्यान अफ दि म्याच घोषित भए।
पुलिसले अब माघ १६ गते मनाङ मर्स्याङ्दीसँग क्वाटरफाइनल खेल्नेछ।
पोखरेली मैदानमा पुलिस र झापा अहिलेसम्म तीन पटक भिड्दा दुई पटक पुलिसले नतिजा आफ्नो पक्षमा पारेको हो।
२०७२ मा झापाले पुलिसलाई २–० ले पराजित गरेपनि यसपटक नयाँ र पुराना खेलाडी बटुलेर मैदान उत्रेको झापाले पुलिसलाई हराउन सकेन। २०५९ मा पनि पुलिसले झापालाई पराजित गरेको थियो।
पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले खेलाडी नयाँ भए पनि अनुशासित भएर खेल खेल्दा खेल जित्न सफल बनेको बताए। रमपम झापाका प्रशिक्षक प्रवेश कटुवालले नयाँ तथा पुराना दुई किसिमका खेलाडी रहनु र यसअघिका प्रतियोगिताका क्रममा केही घाइते समेत भएका कारण अपेक्षानुसार खेल्न नसकेको स्विकारे।
प्रतियोगिताअन्तर्गत शनिबार सुदूरपश्चिम स्पोर्टिङ क्लब धनगढी र बंगलादेशको उत्तर बरिन्धरा क्लबबीच पहिलो क्वाटरफाइलन हुनेछ।