
काठमाडौं: सरकारले तेस्रो मधेश आन्दोलनको छानविन प्रतिवेदन लुकाएको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन भएको छ।
तेस्रो मधेश आन्दोलनको क्रममा भएको क्षति र अत्याधिक बल प्रयोग भएको विषयमा छानविन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा छानविन आयोग गठन भएको थियो।
उक्त आयोगले प्रतिवेदन बुझाएको महिनौं बितिसक्दा पनि सरकारले सार्वजनिक गरेको छैन। प्रतिवेदन सार्वजनिक गर्न बारम्बार दबाब सिर्जना भएपनि सरकारले प्रतिवेदन लुकाएको आयोग कै सदस्यहरुले आरोप लगएका छन्।
आयोगको प्रतिवेदन सार्वजनिक गर्न मधेशका जिल्लासहित काठमाडौंमा पनि नियमति प्रदर्शन हुँदै आएको छ। सोही क्रममा शनिबार तराई मधेश राष्ट्रिय परिषद्ले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ।
सरकारले मधेश आन्दोलनको छानविन प्रतिवेदन लुकाएको आरोप लगाउँदै तराई मधेश राष्ट्रिय परिषद्का सदस्य काशिन्द्र यादवले भने,‘सरकारले प्रतिवेदन सार्वजनिक नगरेसम्म हामी दबाबका लागि प्रदर्शन गर्नेछौं। प्रतिवेदन बुझाइए पनि दोषीलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको छैन।’
प्रतिवेदनमा प्रदर्शनकारीमाथि अत्याधिक बल प्रयोग गर्ने सुरक्षाअधिकारीलाई समेत कारवाहीको सिफारिस गरिएको छ। जसकारण सरकारले प्रतिवेदन लुकाएको आरोप लाग्दै आएको छ।