काठमाडौं : डिल्लीबजार कारागारबाट तार काटेर फरार भएका कुख्यात टीके डाँका (टीकाबहादुर थापा) प्रहरी इन्काउन्टरमा मारिएको प्रहरीको दावी गलत सावित भएको छ। उनीमाथि गोली प्रहार भएको भए पनि मृत्यु नभइसकेको चितवनका डिएसपी प्रभु ढकालले जानकारी दिए। चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेको छ।
गत माघ ५ गते डिल्लीबजार जेलबाट भाग्न सफल उनी चितवनमा प्रहरीसँगको मुठभेडमा मारिएको खबर अपराध अनुसन्धान महाशाखाका प्रमुखले पुष्टि गरेको भए पनि अन्तत: त्यो गलत ठहरिएको छ।
नेपाल प्रहरीको अपराध महाशाखाले उनको खोजी गरिरहेको थियो। कारागारबाट फरार रहेका उनको चितवनमा अपराध महाशाखाको टोलीसँग मुठभेड भएको थियो। महाशाखाका प्रमुख एसएसपी दीपेश लोहनीले भिडन्तमा टीके डाँकाको मृत्यु भएको बताएका थिए।
बाइकमा रहेका उनले प्रहरीलाई गोली प्रहार गरेका थिए। प्रत्युत्तरमा प्रहरीले गोली फर्काएको थियो।
(यसअघिको समाचारमा प्रहरीको दावी अनुसार थापाको निधन भएको उल्लेख भएको हुँदा यसबाट पर्न गएको भ्रमप्रति खेद प्रकट गर्दै भूल सुधार गरिएको छ।)