पोखरा : बंगलादेशको उत्तर बरिन्धरा कलब १६औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा सुदूरपश्चिम-११ स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उत्तर बरिन्धराले अन्तिम चारमा स्थान बनाएको हो।
३ वटै गोल दोस्रो हाफमा भएको खेलको ७४औँ मिनेटमा उत्तर बरिन्धरा क्लबका सिल्ला सोन्लेमानेको पासमा मिदो मास्साले गोल गर्दै विदेशी टोलीलाई अग्रता दिलाएका थिए। त्यसको ९ मिनेटपछि उत्तर बरिन्धरा क्लबकै सिल्ला सोन्लेमानेले गोल गर्दै अग्रता दोब्बर पारे।
सुदुर पश्चिमका तर्फबाट ७८औँ मिनेटमा पेनाल्टी अवसर पाएपनि धिरज गुरुङले गोलमा परिणत गर्न सकेनन्। सुदूर पश्चिमका लागि बिनोद केसीले खेलको ८८औ मिनेटमा १ गोल गरेपनि त्यो हार टार्न पर्याप्त भएन। सुदुर पश्चिम ११ का प्रशिक्षक सुरेश हमालले खेलाडीले राम्रै खेले पनि गोल गर्न नसकेको बताउँदै पाएको अवसरलाई सदुपयोग गर्न नसकेको बताए।
दोश्रो हाफको थप समयमा बरिन्धराका सिल्ला सोन्लेमाने र काडे लन्सानेले रातो कार्ड पाएका थिएका थिए।
अब उत्तर बरिन्धाराले सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ र संकटा क्लबको विजेतासँग खल्नेछ। आईतबार दोश्रो क्वाटरफाईनल खेल त्रिभुवन आर्मी क्लब र धरान फुटबल क्लव बीच हुनेछ।