
काठमाडौं : शनिबार चितवनको रामनगरमा प्रहरी इन्काउन्टरमा घाइते भएका कुख्यात डाँका टीकाबहादुर थापा मगर 'टिके’ अहिले काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारत छन्। उनको शरीरमा दुई गोली लागेको छ।
गत माघ ४ गते डिल्लीबजार कारागारबाट भागेर टिके लुक्ने ठाउँ खोज्दै चितवन पुगेको प्रहरीको दावी छ। उनले चितवनमा सुरक्षित लुक्ने स्थान खोज्दै थिए, त्यही क्रममा प्रहरीको निशानामा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रभु ढकाल बताउँछन्। डिएसपी ढकाल भन्छन्, 'कारागारबाट फरार भएर उनी चितवन लुक्न आएको देखिन्छ।'
ना ४७ प ५०५२ नम्बरको मोटसाइकलमा सवार टीके प्रहरी देख्नेबित्तिकै हड्बडिए। टीकेले मोटरसाइकल चलाएका थिए। पछाडि बस्नेले साथमा रहेको पेस्तोल झिके र प्रहरीमाथि गोली बर्साए।
टीकेका साथीले प्रहार गरेको गोली प्रहरीलाई लागेन। प्रहरीले प्रहार गरेको गोली भने टिकेलाई ठ्याक्कै लाग्यो। टीके घाइते भए। मोटसाइकलको पछाडि बसेका टीकेका साथी भने फरार भए। टीकेको साथी को थिए? भागेर कहाँ गए? अझै प्रहरीले पत्ता लगाउन सकेको छैन। डिएसपी ढकाल भन्छन्, 'टीके उपचाररत छन् निको भएपछि थप कुरा आउँला।'
टीके डाँकाले प्रयोग गरेको मोटसाइकल कस्को हो भन्ने कुरा पनि प्रहरीले खुलाउन चाहेको छैन। टीकेका साथीले प्रहरीलाई गोली प्रहार गरेको भनिए पनि घटना स्थलमा कुनै गोलीको खोका भने भेटिएको छैन।