काठमाडौं : प्रदेश सरकार गठनबारे बसेको नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलको बैठक सकिएको छ।
बैठकले मुख्यमन्त्रीमा बाँडफाँड टुंगोमा पुर्याएको छ। माओवादीको भागमा प्रदेश ६ र ७ र एमालेको भागमा प्रदेश १, ३, ४ र ५ परेको कार्यदलका सदस्य तथा एमाले नेता सुबास नेम्बाङले जानकारी दिए।
मुख्यमन्त्री को बन्ने विषयमा भने सम्बन्धित प्रदेश र पार्टीले निर्धारण गर्नेछ।
यसैगरी सभामुखको भागभण्डा पनि टुंगो लागेको छ। एमालेले १,३,६ र ७ सभामुख पाउने र माओवादीले ४ र ५ मा सभामुख पाउने भएको छ। त्यसैगरी एमालेले प्रदेश ४ र ५ मा उपसभामुख पाउने र १,३,६ र ७ मा माओवादीले उपसभामुख पाउने निर्णय बैठकले गरेको छ।
प्रदेश सरकार गठन गर्दा कम सांसद रहेको प्रदेशमा ७ जनासम्म मन्त्री हुने र बढी सांसद रहेको प्रदेशमा ११ जनासम्म मन्त्री सिफारिस हुने बैठकले निर्णय गरेको छ।
मन्त्री भागभण्डामा एमालेले ७० प्रतिशत र माओवादीले ३० प्रतिशत पाउने भएको छ। मन्त्रीको वरियता पनि यही आधारमा तय गरिने भएको छ।